काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले जलस्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यकता भएको बताएकी छन्।
बुधवार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री भुसालले जलस्रोत व्यवस्थापनमा धेरै चुनौती रहेको उल्लेख गर्दै आजको आवश्यक्ता नै जलस्रोतको व्यवस्थापन गर्नु रहेको बताइन्। जलवायु परिवर्तनका कारण नेपालमा कृषि, वन, स्वास्थ्य, जैविक विविधतालगायतका विभिन्न क्षेत्रमा समस्या परिरहेको उनको भनाइ छ।
मन्त्री भुसालले जलवायु परिवर्तनको असरले हिमनदी, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टिजस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारिरहेको उल्लेख गरिन्। नेपालमा जलविद्युत्को प्रचुर सम्भावना भए पनि पनि त्यसबाट अझै विद्युत उत्पादन गर्न नसकिएको बताइन्। उनले प्रविधिलाई कृषि, बजारीकरण, सीप र संस्थागत पक्षहरूसँग एकीकृत गर्न जरुरी रहेको भन्दै त्यसका लागि आवश्यक खाका तयार पार्नुपर्ने आवश्यकता देखा परेको बताइन्।
उनले भूमिगत जलस्रोतलाई दिगोरुपमा प्रयोग गरेर तराईको जमिन सिञ्चित गर्न सके त्यसले सामाजिक तथा आर्थिक विकासमा ठूलो योगदान गर्ने विश्वास व्यक्त गरिन्। बहुपक्षीय चुनौतीहरूलाई सम्बोधन गर्न एकीकृत जलस्रोत व्यवस्थापन तथा जलस्रोतको बहुपक्षीय उपयोग गर्न आवश्यक रहेको मन्त्री भुसालको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ चैत्र २०७८, १२ : ३८
लेखकबाट थप