काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ। मंगलवार बिहान साढे ९ बजेदेखि सुरू गर्ने भनिएको मतगणना केही ढिला गरी पौने १० बजे सुरू भएको हो।
सर्वोच्च अदालत परिसरमा विभिन्न ६ ठाउँमा मतगणना भइरहेको निर्वाचन अधिकृत सानुराज पोखरेलले जानकारी दिए। उनले सर्वोच्च अदालतको १ नम्बर हलमा सर्वोच्च अदालतको मतगणना‚ २ नम्बरमा वीरगञ्ज, पर्सा मतदान केन्द्रको मतगणना गरिएको बताए।त्यस्तै‚ ३ नम्बरमा ललितपुर मतदान केन्द्र‚ ४ नम्बरमा सर्लाहीको मतदान केन्द्र‚ ५ नम्बरमा इलाम मतदान केन्द्र र ६ नम्बरमा महेन्द्रनगर मतदान केन्द्रको मतगणना भइरहेको निर्वाचन अधिकृत पोखरेलले बताए।
पोखरेलले यस वर्षको मतगणना कार्य विगतको भन्दा फरक रहेको बताए। विगतमा उपत्यकाबाहिरको मतगणना कार्य सकिएपछि उपत्यकाको मतगणना गर्ने गरिए पनि यस वर्ष उपत्यकाका दुई स्थान सर्वोच्च अदालत र ललितपुरको मतगणना पनि उपत्यकाबाहिरको मतगणनासँगै सुरु गरिएको उनले बताए।पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ चैत्र २०७८, १२ : २६
लेखकबाट थप