काठमाडौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता शुरू भएको छ । भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा ३ दिने औपचारिक भ्रमणको सिलसिलामा नयाँदिल्लीमा छन् ।
भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री देउवाको बेग्लै र प्रतिनिधिमण्डलस्तरीय हैदराबाद हाउसमा वार्ता हुँदैछ । द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल शुरूआत गर्ने कार्यक्रम छ ।नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्य चौकीको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ । नेपालमा उत्पादित र नेपाललाई आवश्यकताभन्दा बढी भएको विद्युत् खरिदका विषयमा सम्झौताका लागि द्विपक्षीय छलफल हुनेछ ।
द्विपक्षीय सम्झौताको आदानप्रदान र प्रधानमन्त्रीले संयुक्तरूपमा प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम पनि तय भएको छ । त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवा सहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम छ ।प्रधानमन्त्री देउवाले शनिवारै दिउँसो ४ः३० बजे भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग भेटवार्ता गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ चैत्र २०७८, ११ : ३६
लेखकबाट थप