आयोगले चैत मसान्तमा मतदाता शिक्षा थाल्ने

सफल खबर संवाददाता

विहीबार, १७ चैत्र २०७८, १५ : २९
आयोगले चैत मसान्तमा मतदाता शिक्षा थाल्ने

काठमाडौं ।  निर्वाचन आयोगले यही चैत मसान्तमा स्थानीय तह निर्वाचनका लागि मतदाता शिक्षा अभियान थाल्ने भएको छ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कसरी मतदान गर्ने भनी सन्देशमूलक प्रचारप्रसार चैत मसान्तबाट थाल्ने तयारी भएको जानकारी दिए।

उनका अनुसार यसपटक मतदान शिक्षाका लागि घरदैलो अभियान नगरिने भएको छ। अडियो र भिडियोको माध्यमबाट मतदानसम्बन्धी सन्देश प्रवाह गरिने उनले बताए।‘पहिला भएको चुनावमा घरदैलो अभियान गर्दा अभियन्ताले कामै नगरी तलब भत्ता बुझेको भन्ने गुनासो आएपछि यस्तो अभियान हटाइएको हो, यसो गर्दा खर्च पनि बच्छ, अहिले त प्रत्येक घरमा शिक्षित व्यक्ति हुन्छन्, त्यसैले समस्या हुँदैन,’ उनले भने।

उनका अनुसार भिडियो र अडियो सामग्री तयार भएपछि रेडियो, टेलिभिजनलगायत सञ्चारमाध्यमबाट प्रचारप्रसार गरिनेछ। ‘वैशाख २८ र २९ गते भने मतदान केन्द्रमा कर्मचारी खटाई कसरी भोट दिने भन्ने सिकाउँछौँ, जानकारी नहुनेले त्यहाँ सिक्छन्,’ उनले भने।

उनले अझै दल दर्तालगायत प्रक्रिया नसकिएकोले मतपत्रको डिजाइन फाइनल हुन नसकेको जानकारी दिए। ‘अबको १/२ दिनमा नमूना मतपत्र छाप्न थाल्छौँ,’ उनले भने, ‘कति छाप्ने भन्ने पनि केही दिनमा टुंगो लाग्ने छ।’

आगामी वैशाख ३० गते एकै चरणमा देशभरिका सबै स्थानीय तहको निर्वाचन हुँदै छ। आयोगका अनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गर्न पाउनेछन्। 

प्रतिक्रिया दिनुहोस