काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले गठबन्धनका लागि एमाले एक्लै भारी रहेको दाबी गरेका छन्।
सदरमुकाम कुश्मा बजारेमा रहेको एमाले पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले पाँच दल वा अन्य जेसुकै भए पनि उनीहरूको संख्या र प्रभाव एमालेसँग तुलनायोग्य नरहेको नेता बस्नेतले बताए। उनले एमाले कछुवा र अन्य दल भ्यागुतो भएको टिप्पणी गरे।
‘चाहे पाँच दल भनून्‚ चाहे जेसुकै दल भनून्। यद्यपि उनीहरूको दलको संख्या र प्रभाव हेर्ने हो भने त्यो चाहिँ कछुवा र भ्यागुतो भन्ने गरेको छु मैले‚’ नेता बस्नेतले थपे‚ ‘एमाले एक्लै कछुवा हो भने गठबन्धन भ्यागुतो हो। एउटा कछुवा बराबर हुन कतिवटा भ्यागुता तराजुमा बस्नुपर्छ?’
उनले एमालेसँग प्रतिष्पर्धा गर्ने सहज नभएको जिकिर गर्दै एमालेको हैसियत के हो नेपाली कांग्रेसले मूल्यांकन गरिदिएको बताए। यस्तै‚ एमालेको हैसियतबारे नेकपा (माओवादी केन्द्र) र माधवकुमार नेपालले पनि थाहा पाएको बताए।
कांग्रेसका केही नेताहरूले गठबन्धनबिना नै निर्वाचनमा जाने कुरा गर्दा देउवाले चुनाव जित्ने हैसियत नभएकाले गठबन्धनमा जान हुँदैन भन्दै गाली गर्नु नै कांग्रेस एमालेको हैसियतका विषयमा जानकार रहेको नेता बस्नेतको दाबी छ। उनले एमालेको एकल हैसियतकै कारण गठबन्धनका नेताहरू गठबन्धन फलाक्दै हिँडेको टिप्पणी गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, १४ : १७
लेखकबाट थप