त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी

नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य, सिताले लिइन ५ विकेट

सफल खबर संवाददाता

आइतबार, २० माघ २०८१, १४ : ०१
नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य, सिताले लिइन ५ विकेट

काठमाडौँ । काठमाडौँमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेट शृंखलाको चौथो खेलमा नेदरल्यान्ड्सले नेपालसामु १४१ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको डच टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर रनको योगफल तयार पारेको हो ।

भ्रमणकारी टोलीका लागि क्याप्टेन बेबेट डी लिडले ४१ र हेथर सेइगर्सले २६ रनको योगदान गरे । फेबी मोल्केन्बोर र रोबिन रिकेले समान २१ रन बनाए ।नेपालका लागि सिता राना मगरले ५ विकेट लिइन् । इनिङ्सको १८ औं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्न आएकी उनले मात्र एक रन खर्चेर ३ विकेट लिएकी हुन् । २०औं ओभरमा उनले थप २ विकेट लिइन् । मनिषा उपाध्यायले २ तथा कविता जोशी र इन्दु बर्माले समान एक विकेट लिए । सुरुवाती तीन ओभरमा मात्र ११ रन दिएकी रुबिना क्षेत्रीले आफ्नो चौथो ओभरमा भने १२ रन दिइन् ।उनले विकेट लिन सकिनन् । पूजा महतो र रेवती रावल भने महंगो सावित भए ।

नेपालले शृंखलाको सुरुवाती दुवै खेल गुमाएको छ । आइतबारको खेलमा समेत पराजित भए नेपालको उपाधि यात्रा कठिन बन्नेछ । बिहीबार नेदर्ल्यान्ड्ससँगको पहिलो खेल गुमाएको नेपाल शनिबार थाइल्यान्डसँग पराजित भएको थियो ।

थाइल्यान्डले दुई र नेदरल्यान्ड्सले एक खेल जितेका छन् । हरेकले एकआपसविरुद्ध तीन खेल खेल्नेछन् । तीन देश सहभागी शृंखलाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।