चीनका विदेशमन्त्रीले प्रचण्ड र ओलीलाई एकैठाउँमा भेट गर्दै (यस्तो छ भ्रमण तालिका)

सफल खबर संवाददाता

शुक्रबार, ११ चैत्र २०७८, २१ : ४७
चीनका विदेशमन्त्रीले प्रचण्ड र ओलीलाई एकैठाउँमा भेट गर्दै (यस्तो छ भ्रमण तालिका)

काठमाडौँ । चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्री तीन दिनका लागि नेपालको औपचारिक भ्रमणमा आएका छन्। ​ शुक्रबार अपराह्न ४ : ४० बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका उनलाई परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी र उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा र काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले स्वागत गरे। 

पाकिस्तान, अफगानिस्तान र भारत हुँदै चिनियाँ विदेशमन्त्री वाङ काठमाडौं आइपुगेका हुन्। परराष्ट्रमन्त्री डा नारायण खड्काको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको भ्रमणमा आएका हुन्। 

विदेशमन्त्री वाङ नेतृत्वको चिनियाँ टोलीलाई बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बस्ने व्यवस्था मिलाइएको छ। विमानस्थलबाट चिनियाँ टोली सीधै होटल द्वारिकाज पुगेको छ। 


परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण तालिका यस्तो छ :

शुक्रबार 
चिनियाँ विदेशमन्त्रीको आज कुनै औपचारिक कार्यक्रम छैन। 

शनिबार 
शिवपुरी हाइकिङ जाने 
चिनियाँ विदेशमन्त्री वाङ शनिबार बिहान ६ बजे शिवपुरीमा हाइकिङमा जाने कार्यक्रम छ। उनी हाइकिङका सौखिन हुन्। 

वाङ​ र मन्त्री खड्काबीच १५ मिनेट एक्लाएक्लै वार्ता 
चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री डा खड्काबीच शनिबार दिउँसो ३ः३० देखि ३ः४५ सम्म सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै भेटवार्ता हुनेछ। सामान्यता विदेशका परराष्ट्रमन्त्री नेपाल आउँदा समकक्षीबीच परराष्ट्र मन्त्रालय वा बाहिर कुनै होटलमा भेटवार्ता हुने चलन भए पनि यसपटक मन्त्री खड्का र वाङबीच प्रधानमन्त्री कार्यालयमा वार्ता हुन लागेको स्रोतले जनाएको छ। 

वाङ र खड्काबीच प्रतिनिधिमण्डल स्तरमा भेट 
परराष्ट्र स्रोतका अनुसार एकल भेटवार्तापछि परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच शनिबार अपराह्न ३ः४५ देखि ५ः४५ सम्म प्रतिनिधिमण्डल स्तरमा छलफल हुनेछ। यसपछि ५स्१५ देखि ५स्३० सम्म नेपाल र चीनबीच कम्तीमा १० वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ। 

केरुङ–काठमाडौँ  रेल, आर्थिक तथा प्राविधिक सहयोग, रातामाटे(केरुङ विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन परिमार्जन, ऊर्जा क्षेत्रमा थप सहकार्य, चीनतर्फ विकासे घाँस निर्यात र भरतपुर अस्पतालमा चीनको सहयोगलगायत विषयमा सहमति तथा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको हो। ​

प्रतिनिधिमण्डल स्तरको वार्तामा परराष्ट्र, अर्थ, गृह, पर्यटन, ऊर्जा, भौतिक योजना, कृषि, उद्योग, भूमिसुधार र स्वास्थ्य मन्त्रालयका सचिव सहभागी हुनेछन्। त्यसैगरी परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि बैठकमा सामेल हुनेछन्। 

प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेट्ने 
परराष्ट्रमन्त्री खड्कासँग प्रतिनिधिमण्डल स्तरमा वार्ता र समझदारीपत्रमा हस्ताक्षरपछि चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन्। साँझ ५स्४५ देखि ६स्१५ सम्म उनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन्। लगत्तै प्रधानमन्त्री देउवाको उपस्थितिमा भर्चुअल माध्यमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणा गरिनेछ। पोखरा विमानस्थल चिनियाँ सहयोगमा बनाइएको हो। ​

परराष्ट्रमन्त्री खड्काले रात्रिभोज दिने 
परराष्ट्रमन्त्री खड्काले चिनियाँ बिदेशमन्त्रीको स्वागतमा शनिबार साँझ ७ः३० बजे होटल द्वारिकाजमा रात्रीभोज दिनेछन्। 

आइतबार 
आइतबार बिहान १० बजे चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यसअघि उनी होटल नक्सालस्थित म्यारियट पुग्नेछन्। 

ओली र प्रचण्डसँग होटल म्यारियटमा भेट्ने  
स्रोतका अनुसार चिनियाँ विदेशमन्त्रीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनीहरुका निवासमा नभेटी होटल म्यारियटमा आइतबार भेट्ने कार्यक्रम छ। बिहान ११ः १० देखि ११ः४० सम्म पूर्व प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्रीले होटल म्यारियटमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। चिनियाँ विदेशमन्त्री तीन दिनको नेपाल बसाइपछि सकेर आइतबार ३ बजे बेइजिङका लागि उड्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस