काठमाडौं । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले मिथिला कलाको बजार तथा व्यवसाय प्रवर्धनमा बेलायत सरकारले सहयोग गर्ने बताए।राजदूत पोलिटले मिथिला पेन्टिङमा लागेका महिलालाई आर्थिक रूपमा सबल बनाउनका लागि बेलायत सरकारको प्रतिनिधिको हैसियतले आफूले यथाशक्य सहयोग गर्ने जानकारी गराएका हुन्।
सोमबार बेलायती राजदूत पोलिटले जनकपुरधाम उपमहानगरपालिका-१५ कुवा रामपुरमा रहेको नारी विकास केन्द्रको स्थलगत निरीक्षण गर्दै महिला सशक्तीकरणका लागि यसको बजारीकरण आवश्यक भएको बताइन्।निरीक्षणका क्रममा नारी विकास केन्द्रमा मिथिला पेन्टिङमा सक्रिय महिलाले यसबारे राजदूतलाई जानकारी दिँदै बजारीकरणमा सहयोग गरिदिन आग्रह समेत गरेका थिए।
जनकपुरधामको कुवामा रहेको नारी विकास केन्द्रमा दर्जनौँ महिलाले मिथिला कला र माटोका सामान उत्पादन गर्दै आएका छन्। नारी विकास केन्द्रका मिथिला कला सहितका सामान देश विदेशमा निर्यात हुने गरेकोमा अहिले आएर बजारीकरणको अभावले शिथिल बनेको छ।
अहिले थोरै महिलाहरू मात्र मिथिला पेन्टिङमा सक्रिय रहेको र बेलायती राजदूतको निरीक्षण भ्रमणले यसको बजारीकरण बढ्ने आशामा उनीहरूमा रहेको छ।
निरीक्षण क्रममा जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीताकुमारी मिश्र, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ सहितका व्यक्तिले बजारीकरण गर्न सहयोग गरिदिन बेलायती राजदूत निकोलालाई आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ चैत्र २०७८, १६ : ३५
लेखकबाट थप