कमजोर ब्याटिङको दबाबमा नेपालको एकदिवसीय विश्वकप अभियान

सफल खबर संवाददाता

आइतबार, ०६ चैत्र २०७८, १७ : १३
कमजोर ब्याटिङको दबाबमा नेपालको एकदिवसीय विश्वकप अभियान

 काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमको उतारचढावपूर्ण प्रदर्शनको जानकार जोकोही छ। विगत लामो समयदेखि नेपाली क्रिकेट अस्थिर प्रदर्शनबाट गुज्रिरहेको छ। कहिले नसोचेको जित दिलाउने त कहिले अकल्पनीय हार भोग्ने नेपाली परम्पराको निरन्तरता कहिलेसम्म? यसको जवाफ तत्काल कसैसँग पनि छैन।

तर सधैँ अस्थिर प्रदर्शनले नेपाली क्रिकेटप्रतिको विश्वासमा संकट आउने त होइन भन्ने प्रश्न सिर्जना भएको छ। जारी एकदिवसीय विश्वकप अभियानको प्रारम्भिक चरणको रुपमा रहेको विश्वकप छनोट लिग २ को खेलमा भएको प्रदर्शनले पनि त्यहि संकेत गरिरहेको छ।

२८ जनवरी २०१९ मा दुबईमा नै भएको एकदिवसीय अन्तरराष्ट्रियमा नै आयोजक युएईविरुद्ध नेपालले सर्वाधिक २ सय ५५ रनको स्कोर बनाएको थियो। अर्थात नेपालले एकदिवसीय अन्तरराष्ट्रियमा उसकै मैदानमा सर्वाधिक स्कोर बनाउ सक्यो। अनि फेरि त्यसकै तीन दिनअघि भने नेपाल केवल १ सय १३ रनमा नै समेटिँदै सर्वाधिक न्यून स्कोर बनाएको थियो। तत्कालीन समयमा तीन दिनमा नै के चमत्कार गर्‍यो नेपालले कि २ सय ५५ रनसम्म बनाउन सकेको थियो। यसको जवाफ दिन धेरै समय खर्चनु पर्दैन त्यो भनेको अस्थिर प्रदर्शन थियो, जिम्मेवारीपूर्ण ब्याटिङ थिएन।

नतिजालाई छाड्ने हो भने २ सय ५५ रनको स्कोर एकदिवसीय खेलमा सामान्य नै हो। तर १ सय १३ रन भने झिनो स्कोर हो। अर्थात बिरलै मात्रै देख्न पाउने स्कोर हो। त्यसपछि नेपालले कहिले पनि २ सय ५५ रन बनाउन सकेको छैन। युएईमा नै गत १८ मार्चमा विश्वकप छनोट लिग २ मा पुनः अर्को एकदिवसीयमा प्रतिस्पर्धा गर्‍यो र त्यसमा १ सय २० रनमा समेटियो। जुन नेपाली एकदिवसीय क्रिकेटको दोस्रो सर्वाधिक न्यून स्कोर थियो। यो दुई या तीन वर्षमा पनि हामी एकदिवसीय क्रिकेटको फर्म्याटअनुसार खेल्न सकिरहेका छैनौं अर्थात एकदिवसीय क्रिकेटमा क्रिजमा टिक्नुको महत्व हाम्रा खेलाडीलाई प्रशिक्षकले बुझाउन नसकेका हुन् या जानीबुझी बढी रन बनाउने ध्याउन्नमा विकेट गुमाएका हुन्। यो खेलाडीकै विषय हो।

तर प्रश्न भने अब खेलाडीमाथि उठिसकेको छ। किनकी यो एकदिवसीय विश्वकप छनोटको आधार हो। कुनै मैत्रीपूर्ण खेल होइन। जहाँ १ सय ६८ रनको लक्ष्य पछ्याउँदा हामीलाई १ सय २० रनमा समेटिने छुट छैन। यसमा हामी पूर्वाधार छैन या खेलाडीले अवसर पाएका छैनन् भनेर पन्छिने छुट कसैलाई पनि हुने छैन। तर हामी सधैँ कमजोर र ब्याटिङमा निरीह हुँदै आएका छौं।

बाँकी खेलमा पनि चिन्ता

युएईमा जारी त्रिकोणात्मक सिरिजमा हामीले युएईसँगको पहिलो खेल नहार्ने खेलमा पराजित हुँदै अंक गुमाएका छौं। यसको स्वाभाविक मानसिक दबाब हुनेछ। युएईविरुद्ध नेपाल मनोवैज्ञानिक रुपमा नै कमजोर हुँदै गएको त होइन भन्ने प्रश्न उठेको छ। युएई जित्न नै नसक्ने बलियो पनि होइन उसले औसत रन बनाएको छ। अब दोस्रो खेलमा सोमबार युएईविरुद्ध उत्रिँदै गर्दा नेपालले आफूमाथिको त्यो मानसिक दबाबलाई कुल्चिएर अघि बढ्नुपर्छ। अर्थात युएईसँगको निरन्तर कमजोर खेलको श्रृंखलाको अन्त्य गर्नुपर्छ।

युएईसँग सोमबार हुने खेल नेपालको विश्वकप अभियानमा अंक तालिका सुधारका लागिसमेत महत्वपूर्ण छ। सिरिजमा सबैभन्दा थोरै १० खेल खेलेको नेपालले १० अंक जोडेको छ। त्यसैले बाँकी २ खेलमा नतिजा आफ्नो पक्षमा पार्न सके एकदिवसीय ग्लोबल छनोटमा पुग्ने शीर्ष तीनको होडमा नेपाल एक कदमअघि हुनेछ। त्यसैले ब्याटिङको संघर्षपूर्ण अवस्थाबाट माथि उठ्दै आफूलाई सम्हालिएर अगाडि बढाउने जिम्मेवारी नेपाली खेलाडीमाथि रहेको छ। 

किन थोरै खेल खेल्यो नेपालले?

टी-२० विश्वकप छनोटमा एक खेल जित्न नसक्दा बाहिरिएको नमिठो अनुभव सँगाले लगत्तै विश्वकप छनोट लिग २ अन्तर्गत जारी एकदिवसीय विश्वकप छनोटको महत्वपूर्ण आधारका रुपमा रहेको यो प्रतियोगिता खेलिरहेको छ। २०१९ यता जारी २०२३ को एकदिवसीय विश्वकप रोडम्यापको यो ३ वर्षको अवधिमा नेपालले केवल १० खेल मात्र खेलेको छ। जबकि सर्वाधिक खेल खेलेको ओमानले २८ खेल खेलेर ३६ अंक बनाएर शीर्ष स्थानमा छ। युएईले पनि १७ खेल खेलिसकेको छ।

१० खेलबाट नेपाल १० अंकसहित छैटौँ स्थानमा छ। यो अभियानमा ७ टिम सहभागी छन्। समूहमा नेपालले नै सबैभन्दा थोरै खेले खेलेको छ। त्यसैले नेपाल आगामी दिनमा राम्रो नतिजासहित अंक तालिका सुधार्न सके ग्लोबल छनोटमा पुग्न अझै पनि नेपाललाई सहज नै छ।

आइसिसीले २०२२ मा नै सकिने यो अभियानलाई एक वर्ष थप गर्दै २०२३ सम्म लम्ब्याएको छ। कोरोना महामारीका कारण एक वर्ष लम्ब्याइएको यो प्रतियोगितासँगै नेपालको एकदिवसीय मान्यता पनि एक वर्ष लम्बिएको छ। यो अभियानमा नेपालसहित सबै राष्ट्रले कुल ३६ ओडिआई खेल खेल्ने छन्।

७ टोली सहभागी विश्वकप लिग-२ मा कुल १ सय २६ ओडिआईमध्ये ६६ खेल सकिएका छन्। शीर्ष तीन टोलीले ग्लोबल छनोटमा सीधै स्थान बनाउने भएकाले तत्काल ७ टीमको लक्ष्य शीर्ष तीन रहेको छ। त्यसैले नेपाल यो अभियानको अन्तिम लक्ष्य भनेकै शीर्ष तीनमा रहनु हो। 

प्रतिक्रिया दिनुहोस