एमसीसी विरूद्ध आन्दोलनमा उत्रिए वामपन्थी दल

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, १४ : ४०
एमसीसी विरूद्ध आन्दोलनमा उत्रिए वामपन्थी दल

काठमाडौं । एमसीसी सम्झौताविरुद्ध साना वामपन्थी दलले शुक्रबार राजधानीमा विरोध कार्यक्रम आयोजना गरेका छन् । खुला मञ्चमा विरोध सभा आयोजना गर्न अघि वामपन्थी दलहरुले विरोध र्‍यालीको आयोजनासमेत गरेका छन् ।

बुधबार संयुक्त विज्ञप्ति जारी गरी ती दलले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।  विरोधका कार्यक्रमहरुमा फागुन २० गते काठमाडौं उपत्यकामा विरोध प्रदर्शन र संयुक्त विरोधसभा गर्ने, फागुन २२ गते बुद्धिजीवीहरुसँग अन्तरक्रिया, फागुन २४ गते विरोध प्रदर्शन र सभा, फागुन २६ गते विद्यार्थीहरूद्वारा क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा, फागुन २८ गते युवकहरूको विरोध प्रदर्शन र सभा रहेका छन् ।

त्यस्तै फागुन ३० गते मजदुरहरुको विरोध प्रदर्शन र सभा चैत २ गते किसानहरुको विरोध प्रदर्शन र सभा, चैत ४ गते श्रमिक र दलित समुदायको विरोध प्रदर्शन र सभा, चैत ६ गते मोर्चाहरुले विरोध प्रदर्शन र सभाको आयोजना गर्ने जनाइएको छ ।  

विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने दलहरुमा विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस