महिला टी-२०आई शृंखला

नेपालद्वारा थाइल्याण्डलाई १०२ रनको लक्ष्य

सफल खबर संवाददाता

शनिबार, १९ माघ २०८१, १३ : ५५
नेपालद्वारा थाइल्याण्डलाई १०२ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको दोस्रो खेलमा नेपालले शनिबार थाइल्याण्डसँग खेलिरहेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा भइरहेको खेलमा नेपालले थाइल्याण्डसामू १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनायो ।

नेपालले थाइल्याण्डविरूद्ध बनाएको यो अहिलेसम्मकै सर्वाधिक योगफल हो भने १०० रनको योगफल कटाएको पनि यो पहिलोपटक हो । नेपालका लागि कविता कुँवर र बिन्दु रावलले सर्वाधिक समान २५ रन बनाए । कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

थाइल्याण्डका लागि थिपाथ्चा पूथावङले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएकी थिइन् । फनिता मया र नताया बूचाथामले २-२ विकेट लिए । चनिदा सुथिराङले १ विकेट लिइन् ।

नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । थाइल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । शृंखलामा सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस