गाडी भाडा बढाउने व्यवसायीको चेतावनी

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, १२ : २२
गाडी भाडा बढाउने व्यवसायीको चेतावनी

 काठमाडौं । लगातार डिजल(पेट्रोलको मूल्य बढिरहेको भन्दै यातायात व्यवसायीले फेरि भाडा समायोजन गर्न माग गरेका हुन् । यातायात व्यवसायीले आफैं सार्वजनिक सवारीको भाडादर समायोजन गर्ने चेतावनी दिएका छन् । डिजल(पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गरेका हुन् ।

सरकारले बेवास्ता गरेर आफैंले भाडा समायोजन गरेर उठाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चेतावनी दिएको छ । सरकारले बिहीबार राति मात्रै पेट्रोल र डिजलमा ५(५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो । अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजल प्रतिलिटर १३३ रुपैयाँ पुगेको हो ।

सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत छ । पेट्रोलियमको मूल्यवृद्धि र गाडी भाडा वृद्धिको मार भने सार्वजनिक सवारीका प्रयोगकर्ताहरुलाई पर्ने अवस्था आएको छ ।

२७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा बढाए यता डिजल(पेट्रोलको मूल्य प्रतिलिटिर २५ रुपैयाँले बढिसकेको छ । २७ असारमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउन मन्त्रीस्तरीय निर्णय गरेका थिए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पेट्रोलियमको मूल्य समायोजनको समयको तुलनामा प्रतिलिटर २५ रुपैयाँ महँगिएकाले गाडी चलाउँदाको लागत उठ्न छाडिसकेको दावी गर्छन् ।

सार्वजनिक सवारी चल्नै नसक्ने अवस्था बनिसकेको सिटौलाको दावी छ । उनका अनुसार सरकारले २०६५ सालमा बनाएको वैज्ञानिक भाडा समायोजनको नियमअनुसार इन्धनको मूल्यलाई ३५ र पार्टपूर्जासहितका अन्य खर्चलाई ६५ प्रतिशत मानी भाडादर निर्धारण गरिन्छ ।

कोरोना कहरको चपेटामा परेका आम यातायात व्यवसायीहरुले बैंक व्याज किस्ता बुझाउन नसकेको अवस्थामा पेट्रोलियम पदार्थ पटक(पटक मूल्यवृद्धिले ठूलो समस्या परेको महासंघले जनाएको छ ।

मूल्यवृद्धि फिर्ताका लागि महासंघले पटक पटक ध्यानाकर्षण गराएपनि उपभोक्ता वर्गलाई पर्ने असरलाई समेत वेवास्ता गरी सोही क्रम जारी राख्दा समस्या भएको महासंघको निष्कर्ष छ ।सरकारलाई फागुन २५ सम्म यायातमा भाडा समायोजन गर्न व्यवसायीहरुले समयसीमा तोकेका छन् ।  

प्रतिक्रिया दिनुहोस