मतदाता शिक्षा घर दैलोसम्म पुग्ला

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १३ : ५०
मतदाता शिक्षा घर दैलोसम्म पुग्ला

काठमाडौँ ।  यसपटकको स्थानीय तहको निर्वाचनमा सबै मतदाताको घरदैलोसम्म मतदाता शिक्षा पुग्ला र ढुक्कले भोट हाल्न आममतदाताले सक्लान् भन्नेमा आशंका पैदा भएको छ।

मतदाता शिक्षाका लागि समयको अभाव र मतदान जटिल प्रक्रियाका कारण यस्तो अवस्था उत्पन्न हुने देखिएको हो। आयोग चैत दोस्रो हप्ताबाट मतदाता शिक्षाका लागि कार्यक्रम अगाडि बढाउने योजनामा छ। विगतमा पनि उम्मेदवारी घोषणासँगै मतदाता शिक्षालाई अगाडि बढाइएपनि १५ दिनपनि आयोगले मतदाता शिक्षाका लागि समय खर्चेको छैन।

मतदाता शिक्षालाई प्रभावकारी रुपमा घर– घरमा पुर्‍याउन निर्वाचन आयोगलाई विगतमा भन्दा यस पटक चुनौति छ। ठूला मतपत्र र मतदान समेत जटिल हुँदा मतदाता शिक्षाको महत्व अझ प्रभावकारी रुपमा लैजानु पर्नेमा आयोगले त्यस अनुरुप संवेदनशील बन्दै आवश्यक कार्यक्रम अगाडि बढाउन सकेको छैन।

२०७९ साल वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनमा ८० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिन निवेदन दिइसकेका छन्। राष्ट्रिय मान्यता पाएका ६ वटा दलबाहेक पनि अन्य दलले निर्वाचन आयोगले दिने चिन्हबाट उम्मेदवार चुनाव लड्ने हुँदा मतपत्र लामो हुने अवस्था छ। सोही कारण प्रत्येक वडाहरुको फरक– फरक मतपत्रका कारण मतदानमा मतदाता अलमलमा पर्नै अवस्था छ। ०७४ सालको स्थानीय तहको निर्वाचनमा ६८ लहरको लामो मतपत्र थियो।

जटिल र लामो मतपत्र र प्रभावकारी मतदाता शिक्षा नहुँदा विगतमा वदर मत १० प्रतिशतको हाराहारीमा थियो। ०७४ सालको निर्वाचनमा भन्दा यस पटक मतदाता ३८ लाख मतदाता थपिएका छन्। १ करोड ७९ लाख मतदाता रहेकोमा आयोगले मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन, मतदाता शिक्षाका लागि प्रचारप्रसारका सामाग्रीको छपाइ, आमसञ्चार, सोसल मिडिया प्रयोजनका शीर्षकमा गरी जम्मा ४० करोड रुपैयाँ खर्च गर्दैछ। प्रतिमतदाता अनुसार मतदाता शिक्षाका लागि आयोगले २२ रुपैयाँ खर्च गर्दैछ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा आयोगले २० हजार स्वयंमसेवक परिचालन गरेको थियो। तर यस पटक भने आयोगले घरदैलोमा गरी मतदाता शिक्षा नदिने भएको छ। ‘

 

प्रतिक्रिया दिनुहोस