भरतमोहन अधिकारीको स्मृति दिवस मनाइँदै

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, ११ : ४७
भरतमोहन अधिकारीको स्मृति दिवस मनाइँदै

काठमाडौँ । वरिष्ठ वामपन्थी नेता तथा तत्कालीन उपप्रधान एवं अर्थमन्त्री स्व भरतमोहन अधिकारीको आज तेस्रो स्मृति दिवस मनाइँदै छ।तेस्रो स्मृति दिवसको अवसरमा भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले बुधबार विराटनगरमा स्मृतिसभाको आयोजना गर्ने भएको हो। स्मृतिसभालाई नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गर्ने प्रतिष्ठानले जनाएको छ।

अधिकारीको ८२ वर्षको उमेरमा ०७५ साल फागुन १८ गते निधन भएको थियो। एमालेको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री अधिकारी उक्त सरकारका कतिपय जनमुखी कार्यक्रमका कारण लोकप्रिय भएका थिए।अधिकारीले नै वृद्धवृद्धा र एकल महिलालाई सामाजिक सुरक्षा कार्यक्रममार्फत मासिक भत्ता दिने कार्यक्रम थालेका थिए। मासिक एक सय रुपैयाँबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता बढेर पछिल्लो समय ४ हजार पुगेको छ।यस्तै महिलाका नाममा घरजग्गा खरिद गर्दा रजिस्ट्रेशन शुल्क छुट गर्ने नीति अघि सारेर उनले महिला सशक्तीकरणमा समेत योगदान दिएका थिए। उक्त व्यवस्थाका कारण धेरै महिला सम्पत्तिका मालिक भएका छन्।

‘आफ्नो गाउँ आफै बनाऔं’ कार्यक्रममार्फत अधिकारीले पहिलोपटक स्थानीय तहमा विकास बजेट पठाउने कामको पनि प्रारम्भ गरे। सहकारीमार्फत आर्थिक कारोबारमा जनताको पहुँच वृद्धिका लागि उनले ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ कार्यक्रम अघि सारेका थिए।
स्मृतिसभामा सामाजिक जीवनका विविध क्षेत्रमा उदाहरणीय काम गरेर ख्याती कमाएका प्रदेश–१ का सात ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ। 

प्रतिक्रिया दिनुहोस