गठबन्धनको बैठकमा प्रचण्डले भने : ‘लामो समय देखि सदन अवरुद्ध रहेकाले एमसिसी मात्रै सभामुखलाई टेबुल गर भन्ने उपयुक्त हुँदैन’

एमसिसी सदनमा अर्थमन्त्रीले प्रस्तुत नगर्ने

सफल खबर संवाददाता

आइतबार, ०८ फागुन २०७८, १२ : ०५
गठबन्धनको बैठकमा प्रचण्डले भने : ‘लामो समय देखि सदन अवरुद्ध रहेकाले एमसिसी मात्रै सभामुखलाई टेबुल गर भन्ने उपयुक्त हुँदैन’

काठमाडौं । प्रतिनिधि सभा बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल गर्ने सहमती जुटेपनि माओवादी अध्यक्ष प्रचण्डले बैठकमा लामो समय देखि सदन अवरुद्ध रहेकाले एमसिसी मात्रै सभामुखलाई टेबुल गर भन्ने उपयुक्त नहुने धारणा राखेका छन् । 

बैठकमा अध्यक्ष प्रचण्डले राखेको धारणाबारे उनको सचिवालयले जारी गरेको विज्ञप्तीमा कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनी हाल लामो समय देखी सदन अबरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई मात्र टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट पारेको जनाएको छ ।

यस्तै  एमसिसी टेबुल गरि छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गरेका छन् । तर  प्रधानमन्त्री देउवा भने टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहेकाले यो विषयमा सहमती जुट्न सकेको थिएन् । सचिवालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, अध्यक्ष प्रचण्डले उपरोक्त स्थितिमा सदनमा आ आफ्नो विचार अनुसार नै छलफल गर्ने समझदारी भएको धारणा राखेका छन् । 

गठबन्धनको बैठकमा निर्णय भएसँगै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर एमसीसीबारेको कार्यसूची तय गर्ने बताइएको छ । एमसीसी टेबल भएपनि माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायतले पास गर्न भने सघाउने छैनन् । स्रोतका अनुसार आज एमसीसी टेबल गर्ने कार्यसूची बनेपनि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत नगर्ने भएका छन् । उनको स्वास्थ्यमा समस्या देखिएकाले घरमै आरामरत रहेको बताइएको छ । अर्थमन्त्रीको अस्वस्थताका कारण अर्कै मन्त्रीले एमसीसी टेबल गर्ने स्रोतले बतायो ।

यसैबीच माओवादी केन्द्र तत्काल सरकारबाट पनि नबाहिरिने भएको छ । एमसीसी टेबल भएपछि प्रक्रिया पुरा गरेर भोटिङमा जान समय लाग्न भएकाले त्यतिबेलासम्म माओवादी सरकारमै रहने र भोटिङको बेला भने माओवादीले विपक्षमा मतदान गर्ने तयारी गरेको छ।