चोलेन्द्रलाई न्यायाधीशकै सूचीबाट हटाइयो, सुरक्षाकर्मी पनि खोसियो

सफल खबर संवाददाता

आइतबार, ०१ फागुन २०७८, १९ : ०४
चोलेन्द्रलाई न्यायाधीशकै सूचीबाट हटाइयो, सुरक्षाकर्मी पनि खोसियो

काठमाडौँ । सर्वोच्च अदालतले आफ्नो वेबसाइटबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायाधीशकै सूचीबाट हटाएको छ। जबराको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई पनि फिर्ता बोलाइएको छ। सरकारी निवास बालुवाटारमा तैनाथ सुरक्षाकर्मी फिर्ता बोलाएर कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीका लागि खटाइएको छ।

जबराको नाम र फोटो भएको ठाउँमा अहिले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको राखिएको छ। सत्तारुढ ९८ सांसदले आइतवार महाअभियोग प्रस्ताव दर्ता गरेसँगै स्वतः निलम्बनमा परेका जबराको नाम र फोटो हटाएर कायममुकायममा दीपक कार्कीलाई उल्लेख गरिएको छ। कार्की सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हुन्। महाअभियोग दर्ता भएसँगै स्वतः निलम्बन हुने संवैधानिक व्यवस्था अनुसार राणा आइतबारबाटै भूमिकाविहीन भएका हुन्। 

महाअभियोग दर्ता भएको पत्र सर्वोच्च पुगेपछि गाडीबाट झण्डा समेत हटाएर उनी बाहिरिएका थिए। साढे तीन महिनादेखि उनीविरुद्ध सर्वोच्चमा आन्दोलन चलिरहेको थियो। सर्वोच्चका सबै न्यायाधीशले राणालाई बहिस्कार गरेका थिए। उनीसँगै इजलासमा समेत नबस्ने भनेका थिए भने कानुन व्यवसायीले समेत राणा रहने इजलासमा बहस नगर्ने अडान लिएका थिए। 

यो अवधिमा राणाले कुनै पनि मुद्दाको सुनुवाइ गरेका थिएनन्। सर्वोच्चमा १९ जना न्यायाधीश छन्। सर्वोच्च अदालतको पूर्ण बैठकमा पनि उनलाई अलग गरेका थिए। न्याय सेवा आयोगको बैठक समेत राख्न सकेका थिएनन् । कानुन मन्त्री, महान्यायाधीवक्ता, वरिष्ठतम् न्यायाधीश र लोकसेवा आयोगका अध्यक्ष सदस्य रहने बैठकमा कोही पनि उपस्थित नभएपछि महत्वपुर्ण निर्णय रोकिएका छन्।

तीन पटक बैठक स्थगित गर्नु परेको थियो। न्याय परिषद्मा समेत राणालाई सहभागी नगराउन कानुन व्यवसायीले आग्रह गरेका थिए। सबैतिरबाट भूमिकाविहीन बनाइएका प्रधानन्यायाधीशविरुद्ध सत्ता गठबन्धनकै सांसदले महाअभियोग दर्ता गरेका हुन्।

प्रतिक्रिया दिनुहोस