डबलीमा युवाहरुको प्रतिभा प्रदर्शन

शनिबार, २२ बैशाख २०७५, १९ : १२
डबलीमा युवाहरुको प्रतिभा प्रदर्शन

चितवनस्थित डबली क्याफेमा युवाहरुले संगीत, प्रहसन, कविता वाचन तथा वक्तृत्वकला लगायतका प्रतिभा प्रदर्शन गरेका छन् । यही वैशाख २१ गते साँझ ५ बजेदेखि ७ बजेसम्म ‘बेटर चितवन’ अभियानको आयोजना तथा डबलीसँगको सहकार्यमा ‘ओपन माइक इभेन्ट’का रुपमा सो कार्यक्रम भएको थियो ।

कार्यक्रममा निशा श्रेष्ठ र समिर लामाले संगीत प्रस्तुत गरेका थिए भने एरिका कुँवर, आयुष्मा वाग्ले, दिनेश सुवेदी, सुशील सुवेदी र चन्दा खनालले कविता वाचन गरेका थिए । साथै पेमा लामा, पुजा खत्री, विशाल बास्तोला र मदन कट्टेलले उत्प्रेरणामूलक भनाइ राखेका थिए  अनि बिनय सापकोटाले प्रहसन प्रस्तुत गरेका थिए । बेटर चितवनका अभियन्ता सागर कार्कीको नेतृत्वमा सम्पन्न कार्यक्रमको यो संस्करणलाई उत्तम सुवेदीले संयोजन  र सुजाता देवकोटाले सञ्चालन गरेका थिए ।

कार्यक्रममा नेपाली र अंग्रेजी दुवै भाषाका अधिकांश कविताहरु महिला हिंसा र यौन हिंसाको विरोधमा केन्द्रित थिए । कार्यक्रमको बीचमा ‘लुगा छोटो कि नियत खोटो शीर्षकमा तीन तीन जना सहभागीले पक्ष र विपक्षमा तर्कसमेत राखेका थिए जसलाई उदय अधिकारीले मूल्यांकन गरेका थिए ।  प्रस्तोता र दर्शकहरुमध्ये अधिकांश स्कुल तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरु रहेका थिए भने दर्शक दीर्घामा कवि सरिता तिवारी तथा अध्येता उदय अधिकारीको उपस्थिति थियो ।

कार्यक्रममा युथ मोटिभेटर्स क्लब र दि ड्रम्बिन पिक्चर्सको समेत सहकार्य रहेको थियो । कार्यक्रम समापनको क्रममा बोल्दै डबलीका सञ्चालक जीवन क्षेत्रीले चितवनमा रहेका यस्ता प्रतिभाहरुलाई डबलीले निरन्तर प्रोत्साहन र प्रवद्र्धन गरिरहने बताउँदै किताब पढ्न, किन्न र किताबहरुमाथि विमर्श गर्नका लागि सबैलाई डबलीमा निमन्त्रणा गरेका थिए ।

यही वैशाख १५ गते देखि सञ्चालनमा आएको भरतपुर विमानस्थल अगाडि स्थित क्याफेको उद्घाटन सत्रमा आएर शिक्षाविद केदारभक्त माथेमाले नेपालको शिक्षाले कहाँ बाटो बिरायो भन्ने विषयमा चितवनका प्राध्यापक र प्राचायृहरुसँग गहन विमर्श गरेका थिए । त्यस्तै उद्घाटन सत्रहरुमै १६ गते आख्यानकार नारायण ढकालको नयाँ पुस्तक ‘हजार माइलको बाटो’माथि लेखकसँग सरिता तिवारीले विमर्श गरेकी थिइन् भने १७ गते पठन संस्कृतिमाथि कुमारी लामा, उदय अधिकारी र सुमनराज श्रेष्ठले विमर्श गरेका थिए ।

प्रतिक्रिया दिनुहोस