अर्थतन्त्र उकास्न एआईले महत्वपूर्ण भूमिका खेल्न सक्छ : विज्ञहरू

सफल खबर संवाददाता

बुधबार, ०९ असोज २०८१, १६ : ४३
अर्थतन्त्र उकास्न एआईले महत्वपूर्ण भूमिका खेल्न सक्छ : विज्ञहरू

काठमाडौँ । नेपालको व्यापारमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले बताएका छन् । नेपाल चेम्बर अफ कमर्स र सनवे कलेजले संयुक्त रुपमा आयोजना गरेको ‘एआई र डाटा साइन्सः डिजिटल युगमा सशक्त बनाउँदै नेपाली व्यवसाय’ प्रदेशस्तरीय कार्यक्रममा बोल्दै सरोकारबालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अब एआई नै व्यापार बढाउने साधन हुने बताए । उनले भने- ‘यो डिजिटल दुनियाँमा जसले एआईको सदुपयोग गर्नसक्छ । उसैको व्यापारले फड्को मार्छ । त्यसकारण एआई प्रविधिलाई सदुपयोग गर्नुस् र फाइदा उठाउनुस् ।

नेपाल चेम्बर अफ कमर्स, आईटी कमिटीका अध्यक्ष विज्ञानराज शर्माले नेपालका शैक्षिक क्षेत्रहरू एआई रिसर्च र विकास गर्नका लागि ठूलो अवसर बन्न सक्ने बताए । उनले भने– ‘एआईको रिसर्च र अनुसन्धान नेपाली शैक्षिक क्षेत्रलाई ठूलो अवसरको रुपमा छ ।

यसले प्रविधि र प्रडक्टलाई एकसाथ अगाडि बढ्न थप मद्दत गर्नेछ । साथै व्यापार र लगानी दुवै सुरक्षित बनाउन सहयोग हुनेछ ।

अबको नेपाली अर्थतन्त्रलाई उकास्ने गरी उद्योग र विश्वविद्यालयको खाडल एआईले पूरा गरिदिने क्यान महासंघका महासचिव एव साइबर सेक्युरिटी विज्ञ चिरञ्जीवी अधिकारीको भनाइ छ ।

उनले भने– ‘भविष्यमा नेपाली अर्थतन्त्रलाई उकास्न र उद्योगहरूलाई चलायनमान बनाउन एआईको भूमिका महत्वपूर्ण हुनेछ । जसमा विश्वविद्यालय क्षेत्र पनि संलग्न हुनेछ । यसले उद्योग र शिक्षालाई आपसमा सँगसँगै लैजान पनि अहम भूमिका एआईले गरिदिनेछ ।

यस्तै वाइज याकका सहसंस्थापक डा.हेमन्त श्रेष्ठले एआईलाई स्थानीय उद्योगमा कसरी लागू गर्न सकिन्छ भनेर आफ्ना अनुभवहरू सुनाए । सामाजिक सुरक्षा कोषका निर्देशक डा.रोशन कोजुले डेटा साइन्सले सरकारलाई दिने दीर्घकालीन सेवा र फाइदाका बारेमा अनुभव साटेका थिए । 

काठमाडौँ विश्वविद्यालयका सहायक प्राध्यापक डा.मनोज शाक्यले शैक्षिक क्षेत्र अब एआईका कारण खोज र अनुसन्धानमा लागेर उद्योगलाई सघाउन सक्ने अवसरको रुपमा परिवर्तन हुन सक्ने बताए । खल्तीका सीईओ विनय खड्काले एआईले नेपाली विजनेसलाई सजिलैसँग माथि उठाउन मद्दत गर्ने दाबी गरे । 

प्रतिक्रिया दिनुहोस