मुस्ताङका १०३ च्यांग्रा चोरी गरी चितवन ल्याई बिक्री गरेको आरोपमा एक जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०९ असोज २०८१, १५ : २०
मुस्ताङका १०३ च्यांग्रा चोरी गरी चितवन ल्याई बिक्री गरेको आरोपमा एक जना पक्राउ

चितवन। मुस्ताङका १०३ च्यांग्रा चोरेर चितवन ल्याई बिक्रि गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ का ५० वर्षीय मोहम्मद फकिरसहित तीन जनाले मुस्ताङबाट ल्याएका च्यांग्रालाई साहु सुतेको समयमा अर्को गाडीमा हालेर चितवन ल्याई बिक्रि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। बाँकी अभियुक्त फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा नम्बर ७ मा बसोबास गर्दै आएका फकिर असोज १ गते साथीसहित मुस्ताङ पुगेका थिए । फकिर मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ का ताक्ला गुरुङको गोठमा पुगेर च्यांग्रा खरिद गर्न आएको भनेर कुरा सुरु गरे ।

मोलमोलाइपछि ४२ लाख रुपैयाँमा १०३ वटा च्यांग्रा खरिद गर्ने सहमति पनि हुन्छ । तर, फकिर र उनका साथीहरूसँग पैसा हुँदैन । उनीहरूले च्यांग्राधनी गुरुङलाई पोखरा पुगेपछि रकम दिने बताउँछन् । मुस्ताङबाट आउने च्यांग्राहरू पोखरा–२५ बाट प्रायजसो पैदल नै हिँडाएर ल्याउने गरिन्छ ।

पोखरा पुगेर रकम लिने भएपछि गुरुङ पनि सहमत हुन्छन् र ट्रकमा ल्याइएका च्यांग्रासहित पोखरा आउँछन् । पोखरा आएका उनी ड्यामसाइडमा रात बिताउँछन् । भोलिपल्ट उनले रकम पाउनुपर्ने हो । तर च्यांग्राहरू रातारात हराउँछन् ।

उनी सुतेको बेलामा रकम दिने भनेकाहरू नै च्यांग्रालाई अर्को गाडीमा हालेर रातारात चितवन ल्याउँछन् । भोलिपल्ट गुरुङले च्यांग्रा हराएको जाहेरी दिएपछि नै खोजतलासको क्रममा चितवन पुर्‍याइएको खुलासा हुन्छ ।

१०३ वटा च्यांग्रा हराए पनि प्रहरीले खोजतलासको क्रममा जम्मा ५० वटा मात्र फेला पारेर गुरुङलाई बुझाउँछ । बाँकी च्यांग्राहरू विक्रीवितरण भइसकेको कास्की प्रहरी प्रवक्ता वसन्त शर्माले जानकारी दिए ।

सोही चोरी प्रकरणमा पक्राउ परेका फकिरलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा ६ दिन म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस