नेपालको फिल्डिङ प्रशिक्षकमा रघुराम श्रीनिवास

सफल खबर संवाददाता

सोमबार, १७ माघ २०७८, ११ : १६
नेपालको फिल्डिङ प्रशिक्षकमा रघुराम श्रीनिवास

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतका रघुराम श्रीनिवासलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षक नियुक्त गरेको छ ।

ओमानमा हुने आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरका लागि श्रीनिवासलाई फिल्डिङ प्रशिक्षकका रूपमा नियुक्त गरिएको क्यानले जनाएको छ । श्रीनिवास आइतबार नेपाल आइसकेका छन् ।

श्रीनिवासले नेपालका मुख्य प्रशिक्षक पुबुदु दासानायकेसँग अमेरिकामा पनि सँगै काम गरेका थिए । ओमान भ्रमणका लागि नेपाली टोलीले अहिले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बन्द प्रशिक्षण गरिरहेको छ ।

‘‘रघुसँग मैले अमेरिकामा पनि सँगै काम गरेको थिएँ । उनी धेरै ऊर्जावान् फिल्डिङ प्रशिक्षक हुन् । जसले नेपाली टोलीमा भएका केही कमजोरीहरू सुधार गर्न सक्छन् । छोटो समयमा उनले मूल्यवान् समय दिएकोमा उनीप्रति आभारी छु,’’ मुख्य प्रशिक्षक दासानायकेले भने । नेपालले ग्लोबल क्वालिाफयरअघि ओमान, युनाइटेड अरब इमिरेट्स (यूएई) र आयरल्यान्डसँग चारदेशीय शृंखला खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस