निर्वाचन आयोगको ग्रिनसिग्नलपछि गठबन्धन जेठभित्रै निर्वाचन गर्न तयार

सफल खबर संवाददाता

शनिबार, १५ माघ २०७८, २० : ०९
निर्वाचन आयोगको ग्रिनसिग्नलपछि गठबन्धन जेठभित्रै निर्वाचन गर्न तयार

काठमाडौँ । स्थानीय तहको चुनाव कहिले गर्ने भन्नेबारे सहमति जुटाउनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारुढ गठबन्धनको बैठक बोलाइएको थियो ।

त्यहीँबाट नेताहरूले प्रमुख निर्वाचन आयुक्तलाई टेलिफोन गरेर सोधे– जेठ ५ मा कार्यकाल सकिने भएता पनि जेठ मसान्तभित्र चुनाव गर्दा कानुन संशोधन गर्नुपर्छ कि यही कानुनअनुसार गर्न मिल्छ ? जेठमा चुनाव गर्न कानुनी अड्चन केही छन् कि छैनन् ?’

टेलिफोन संवादमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेताहरूलाई भने, ‘कार्यकाल सकिएको एक–दुई हप्ता यताउता भएर फरक पर्दैन, अहिलेकै कानुन र संवैधानिक व्यवस्थाअन्तर्गत चुनाव गर्न बाधा छैन । जेठ महिनाभित्र चुनाव गर्न निर्वाचन आयोग तयार छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘ग्रिन सिग्नल’ दिएपछि शनिबार साँझ दोस्रो चरणमा बसेको पाँच दलीय गठबन्धनको बैठकले जेठ मसान्तभित्रै स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएको छ । गठबन्धनको यो सुझावसँगै आगामी जेठमा स्थानीय तहको चुनाव हुने निश्चित भएको छ ।  

जेठ मसान्तभित्र स्थानीय चुनाव गर्न सत्तारुढ दल सहमत, आयोगसँगको छलफलपछि मिति तोक्ने ​जेठमा स्थानीय तहको चुनाव एकै चरणमा गर्ने कि दुई चरणमा गर्ने भन्नेबारे दुवै विकल्पमा आयोग तयार रहेको थपलियाले नेताहरूलाई जानकारी दिएका छन् । निर्वाचन आयोगले दुई चरणमा चुनाव प्रस्ताव गर्ने सम्भावना रहेको स्रोतले बतायो । तथापि एकै चरणमा पनि चुनाव गर्न सकिने आयोगले सरकारलाई यसअघि नै बताइसकेको छ । 

प्रतिक्रिया दिनुहोस