प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात समिट स्थगित

सफल खबर संवाददाता

विहीबार, २२ पुस २०७८, १३ : १२
प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात समिट स्थगित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको भारतको गुजरातमा आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ । 

पछिल्लोसमय भारतमा बढ्दो कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोनका संक्रमणको जोखिमका कारण जनवरी ९ देखि आयोजना हुने दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । त्यसका लागि प्रधानमन्त्री देउवा २५ पुसमा नयाँ दिल्ली प्रस्थान गर्ने र २६ गते उक्त समिटको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । 

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले गुजरातमै भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि द्विपक्षीय औपचारिक वार्ता गर्ने तय भएको थियो । तर, गुजरातमा पछिल्लोसमय बढेको कोरोना संक्रमणको स्थितिको समीक्षा गरेपछि  समिट रद्ध गर्ने  निर्णय भएको जनाइएको छ ।

गत एक हप्तामा कोरोनाका केसहरू यो राज्यमा धेरै गुणा बढेको देखिन्छ। यस राज्यमा बुधबार ३ हजार ३५० नयाँ केसहरू दर्ता भएका थिए, जुन १ जनवरीमा दर्ता भएको १,०५९ को तुलनामा तीन गुणाले बढी हाे । 

प्रतिक्रिया दिनुहोस