कांग्रेसमा देउवा पक्षको वर्चश्व, १३ पदाधिकारीमध्ये ८ जना देउवा प्यानलबाट विजयी

सफल खबर संवाददाता

शुक्रबार, ०२ पुस २०७८, १९ : ३४
कांग्रेसमा देउवा पक्षको वर्चश्व, १३ पदाधिकारीमध्ये ८ जना देउवा प्यानलबाट विजयी

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि गत सोमबार भएको निर्वाचनमध्ये पदाधिकारीको मतगणना सकिएको छ ।  पदाधिकारीमा विजयीको अवस्था हेर्दा केन्द्रीय समितिमा देउवा पक्षक हाबी हुने रुझान देखिएको छ । १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री निर्वाचित हुने कांग्रेसको विधान रहेको छ ।  १३ जना पदाधिकारी मध्ये ८ जना देउवा प्यानलबाट विजयी भएका छन् ।

जसमध्ये १ सभापति, १ उपसभापति र ६ महामन्त्रीमा देउवापक्षले जितेको छ । एक उपसभापति र एक महामन्त्रीका साथ २ सहमहामन्त्री सभापतिमा पराजित शेखर कोइराला पक्षले जितेको छ । अर्का पराजित सभापतिका उम्मेदवार प्रकाशमान सिंह पक्षले एक महामन्त्री जितेको छ । 

सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का विजयी भएका छन् । ८ मध्ये सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ९डिना०, भीष्मराज आङ्देम्बे, किशोर सिंह राठौर, फरमुल्लाह मन्सुर, महेन्द्र यादव र उमाकान्त चौधरी विजयी भएका छन् । तर, पार्टीमा सभापतिपछि शक्तिशाली मानिने महामन्त्री भने देउवाले गुमाएका छन् ।

उनी पक्षका प्रकाशशरण महत र प्रदीप पौडेललाई शेखर कोइराला पक्षका गगन थापा र प्रकाशमान पक्षका विश्वप्रकाशले जितेका छन् । दुवै जना नेतृत्वको आलोचना गर्न सक्ने र युवामाझ मनपराइका नेता हुन् । पदाधिकारी विजयी भएको आधारमा भन्दा केन्द्रीय समितिमा पनि देउवाको स्पष्ट बहुमत पुग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस