राजनीतिबाटै अलग हुन सक्छु : मिनेन्द्र रिजाल

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, १९ : २८
राजनीतिबाटै अलग हुन सक्छु : मिनेन्द्र रिजाल

काठमाडौँ । कांग्रेस महामन्त्रीमा पराजित भएका डा मिनेन्द्र रिजालले सक्रिय राजनीतिबाटै अलग हुन सक्ने बताएका छन्। भारी मतान्तरले पराजित भएलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएका रिजालले यस विषयमा सोचेर निर्णय गर्ने बताए। प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएपछि मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘मलाई जे राजनीतिक पुँजी आवश्यक थियो, महाधिवेशनको परिणामले त्यो नरहेको देखायो। नेपाली कांग्रेसका लागि गर्नुपर्ने कामका लागि त्यो पुँजी उपलब्ध नहुँदाखेरि मेरा प्रयासहरु निरर्थक हुनेछन् भन्ने लागेर पनि यो निर्णय गरेको हुँ।’

एक हजार मतगणना हुँदैगर्दा पछि परेका रिजालले राजीनामा दिने निर्णय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।  ‘१८-१९ सय मत गनिसकेपछि श्रीमतीलाई घर आऊ चाँडै भनेर बोलाएँ। त्यसपछि उनीसँग सल्लाह गरेर राजीनामा दिने निर्णय सुनाएँ। त्यसमा उनको पनि सहमति भयो,’ रिजालले भने, ‘सचिवजी र केही शीर्ष नेताहरुले त मलाई राजीनामा दिन आवश्यक छ र भनेर सोध्नु भएको थियो।’

रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले फोन गरेर राजीनामा दिन आवश्यक छ र भनेर सोधेको उनले बताए। भोलिका दिनमा अरु नेताले पनि सोच्ने बाटो बनोस् भनेर राजीनामा दिएको रिजालले बताए। ६५ वर्षीय रिजाल पछिल्लो १८ वर्षदेखि निरन्तर नेपाली कांग्रेसको केन्द्रीय समितिमा थिए। तर यो उमेरमा जबर्जजस्ती राजनीतिमा उभिइरहनुपर्छ भन्ने सोच बनाउनु उचित नहुने र महाधिवेशनको परिणामले पनि स्पष्ट रुपमा सन्देश दिएको उनले बताए। 

‘आजको दिनमा मिनेन्द्र रिजाल एकाएक हरायो भने पनि मिनेन्द्र रिजाल काम नलाग्ने मान्छे थियो हरायो, बेस भयो, भन्ने भाव बाँकी रहन्न होलाजस्तो लाग्छ मलाई। मान्छे राम्रै हो, भइदिएको भए हुन्थ्यो नै भन्नु हुन्छ होला,’ रिजालले भने। मोरङ क्षेत्र नम्बर २ का जनताले जिताएर पठाएकाले यो संसद् रहेसम्म कसरी क्रियाशील रहने भन्ने कुरा अर्को विषय भएको उनको भनाइ छ।

सुरुमा शशांक कोइरालालाई सभापतिमा उठाउनु पर्ने पक्षमा रहेका रिजाल पछि रामचन्द्र पौडेललाई सभापतिको उम्मेद्वार बनाउनु पर्ने पक्षमा थिए। तर अन्तिम समयमा शेखरको प्यानलबाट महामन्त्रीमा उठेका थिए। तर, प्यानलभित्रै आफूलाई असहयोग भएको संकेत उनले गरे। ‘कहिले, कसलाई, को पछि लागेको लाग्यो। अहिले निर्वाचन लड्नेक्रममा पनि कतिपय साथीहरुलाई यता पो लागेको छ कि, उता पो लागेको छ कि भन्ने लाग्यो होला,’ उनले भने, ‘त्यसलाई मैले मेरो दोष अथवा पराजयलाई ढाकछोप गर्नेभन्दा अर्को रुपमै लिनु उचित हुन्छ। म आफ्नो अनुहार ऐनामा हेर्दा आफैँलाई गाली गर्ने अवस्था नहोस् भन्ने चाहन्छु।’

प्रतिक्रिया दिनुहोस