कांग्रेस महामन्त्री नतिजा : विश्वप्रकाश र गगनको अगाडि गुटगत प्रभाव भुत्ते

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, १८ : ५९
कांग्रेस महामन्त्री नतिजा : विश्वप्रकाश र गगनको अगाडि गुटगत प्रभाव भुत्ते

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको चुनावको परिणामले व्यक्तित्वको अगाडि गुटगत प्रभाव भुत्ते देखिएको छ। सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भए पनि आगामी चार वर्षका लागि महामन्त्रीमा ६ जनाबीच दुई पदका लागि भएको प्रतिस्पर्धामा गुटको प्रभाव देखिएन। गुटको प्रभाव देखिएको अवस्थामा पहिलो चरणमै झण्डै बहुमत ल्याएका देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेद्वारी दिएका डा प्रकाशशरण महत र प्रदीप पौडेलले जित्नुपर्ने देखिए पनि उनीहरु दुवै जना प्रतिस्पर्धामा तेस्रो र चौथो हुन पुगेका छन्।

कोइराला (संस्थापन इतर) समूहबाट उम्मेद्वार गगन थापा ३ हजार २३ मतसहित पहिलो भए भने गुटका हिसाबले तेस्रो प्रभावशाली देखिएको प्रकाशमान सिंह समूहका विश्वप्रकाश शर्मा १९८४ मत ल्याएर दोस्रो हुन पुगे। थापाले ल्याएको मत खसेको मतको दुई तिहाइ हो। सभापति जितेको संस्थापन प्यानलबाट महामन्त्रीको उम्मेद्वार बनेका प्रकाशशरण महतले १५ सय ५६ र प्रदीप पौडेलले १३ सय ९३ मत मात्रै पाएका छन्।

शेखर प्यानलका महामन्त्रीका अर्का उम्मेद्वार मीनेन्द्र रिजालले ८०९ र अर्का उम्मेद्वार डा राजाराम कार्कीले १०६ मत पाएका छन्। सभापतिको निर्वाचनमा गुटको प्रभाव अत्याधिक देखिएको थियो। पहिलो चरणको चुनवाबाट सभापितमा चयन हुन नसकेपछि देउवालाई सभापतिकै प्रत्यासी सिंह र विमलेन्द्र निधिले सहयोग गरे। उनीहरुको सहयोग मत पेटिकामा देखियो।

सिंह र निधिको सहयोगकै कारण देउवाले दोस्रो चरणमा २७ सय ३३.५ प्रतिशत मत पाए भने अर्का उम्मेद्वार कोइरालाले १८ सय ५५ मत पाए। तर महामन्त्रीमा गुटको प्रभाव नदेखिनुमा उम्मेद्वारहरुले कांग्रेस र राष्ट्रिय राजनीतिमा देखाएको आशाको प्रतिविम्ब हो। १३औँ महाधिवेशनमै महामन्त्रीका आकांक्षी बनेका गगन थापाले पछिल्लो साढे पाँच वर्ष कांग्रेसभित्र र संसदमा खेलेको भूमिकाको मूल्यांकन महाधिवशेन प्रतिनिधिहरुले गरेका छन्। पपुलिष्ट बनेको आरोपका बीच थापाले पार्टी र देश निर्माणका निम्ति व्यक्त गरेका विचार भिन्न थियो।

उनको राजनीतिक व्यक्तित्व दिनप्रति उकालो लाग्यो। कांग्रेसकै ठूला र जिम्मेवार नेताहरुले दुई तिहाइ बहुमतका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका संविधान विरोधी गतिविधिबारे मुक दर्शक बन्दा सदन र सडकमा थापाले मुखरित गरेको आवाजले पनि उनलाई महामन्त्री पदमा भोट दिन कांग्रेस कार्यकर्ता तत्पर भए । थापा जस्तै कांग्रेस, राजनीति र देशलाई नै नविन ढंगले अघि बढाउनुपर्छ भन्ने मान्यता बोकिरहने विश्वप्रकाश शर्मालाई जिताउन पनि कांंग्रेस महाधिवेशन प्रतिनिधिनले गुट हेरेनन्।

महामन्त्रीको उम्मेद्वार बन्ने निश्चय गरेसँगै उनले पार्टी र देश कस्तो बनाउने भन्ने अवधारण पत्र सार्वजनिक गरे जुन काम थापा र उपसभापतिमा उम्मेद्वार बनेका महेश आचार्यबाहेक अरु कुनै पनि उम्मेद्वारले आवश्यक ठानेनन्। कांग्रेस प्रवक्ताका रुपमा दैनिक जसो कार्यकर्ता माझ पुगिरहने, टेलिभिजनमा समेत सामाजिक जाँगरण र उत्थानमा जोड दिने ‘ऐना’ जस्ता कार्यक्रमले पनि शर्माको लोकप्रियता बढाउन सघाउ पुग्यो।

पार्टी कार्यालय सानेपामा जम्मा भएका कांग्रेस कार्यकर्ता शर्माले महामन्त्रीमा जित्नुमा महाधिवशेन उद्घाटन सत्रमा पाएको उद्घोषकको जिम्मेवारी पनि कारक रहेको मान्छन्। सरल र मिठो शैलीमा बोल्ने शर्मालाई झण्डै दुई हजार प्रतिनिधिले अमूल्य मतले सम्मान गरे।

युवा हुँदा हुँदै पनि प्रदीप पौडेलको उम्मेद्वारी थापा र शर्माका अगाडि फिक्का हुन पुग्यो। अन्तिम समयमा सिटौला समूहबाट संस्थापन पक्षको उम्मेद्वार बन्न पुगेका पौडेललाई देउवा खेमाले रुचाएको देखिएन। उनको उम्मेद्वारीले आफ्नो प्यानलमा आएको हलचल व्यवस्थापन गर्नमै देउवाले धेरै मिहिनत गर्नुपर्‍यो। मत परिणाम सार्वजनिक भएपछि सानेपामा कांग्रेस कार्यकर्ता भन्दै थिए, ‘प्रदीप दाइ सहमहामन्त्रीको उम्मेद्वार हुनुपर्थ्यो। गगन र विश्वप्रकाशका अगाडि उहाँको उपस्थिति देखिएन। कृष्ण सिटौलाले थापेको च्याखेलाई प्रतिनिधिले अस्वीकार गरे।’

महामन्त्रीका अर्का उम्मेद्वार महत देउवाका भन्दा पनि पत्नी आरजुको विश्वास पात्रका रुपमा पार्टी हैसियत बनाएको भनेर आलोचित थिए। देउवा समूहमा महामन्त्रीका अरु प्रभावशालीलाई पछि पार्दै आरजुकै प्रभावमा टिकट पाए पनि उनलाई आफ्नै टिमका प्रतिस्पर्धीबाटै धोका भएको विश्लेषण छ।

गुटको प्रभाव महामन्त्रीको चुनावमा मात्रै भत्किएन, कांग्रेसको उपसभापतिमा पनि उसै गरी भत्कियो। कोइराला प्यानलका धनराज गुरुङले विजय गच्छादार जस्तो संस्थापन प्यानलका बलिया उम्मेद्वारलाई पराजित गर्दै आफूलाई सुरक्षित गरे। पहिलो उपसभाति पूर्णबहादुर खड्का भए पनि माथिल्लो तहमा पहिलोपटक चुनाव लडेका गुरुङले आफूलाई लोकप्रिय सावित गरे।

प्रतिक्रिया दिनुहोस