कांग्रेस १४ औँ महाधिवेशन

पौडेल पक्षीय केन्द्रीय सदस्यको बैठक बस्दै, देउवा आन्तरिक परामर्शमा

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, ०८ : ३३
पौडेल पक्षीय केन्द्रीय सदस्यको बैठक बस्दै, देउवा आन्तरिक परामर्शमा

काठमाडौं । १४ औँ महाधिवेशन सुरु हुनुअघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा आन्तरिक परामर्शमा छन् ।पदाधिकारीमा उम्मेदवारका आकांक्षी बढी भएपछि सकस भइरहेका बेला देउवाले आफू पक्षीय पदाधिकारी र नेताहरूसँग आन्तरिक परामर्श गरिरहेका हुन् ।

स‌ंस्थापन पक्षबाट देउवा सभापतिका उम्मेदवार भए पनि सबैभन्दा बढी चासो महामन्त्रीमा छ । महामन्त्रीमा बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्की, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, एनपी साउँद लगायतले दाबी गरिरहेका छन् ।

नेता कृष्ण सिटौला समूहले पनि संस्थापन पक्षतिर झुकाव राखेकाले उक्त समूहलाई मिलाउनुपर्ने बाध्यता देउवालाई छ । सिटौलाले उपसभापतिसहितका पद मागिरहेका छन् । उक्त समूहबाट प्रदीप पौडेल पनि महामन्त्रीका आकांक्षी हुन् ।

त्यस्तै, सभापतिको साझा उम्मेदवारबारे निर्णय गर्न नसकेको संस्थापन इतरको पनि आज बैठक बस्दैछ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बिहान बजे बत्तिसपुतलीमा बैठक बोलाएका हुन् । 

संस्थापन इतरबाट वरिष्ठ नेता पौडेलसहित प्रकाशमान सिंह, शेखर कोइराला तथा शशांक कोइरालाले सभापतिमा दाबी गरिरहेका छन्।  सहमति जुटन नसकेपछि सिंहले शनिबार उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने बताइसकेका छन् । शेखरले पनि सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान थालिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस