गैंडाकोट–८ मा माओवादी केन्द्रको सेलकमिटी र टोलकमिटीहरु सर्वसम्मत रुपमा चयन, सदस्य संख्या झन्डै ६००

सफल खबर संवाददाता

शनिबार, २७ कार्तिक २०७८, १७ : ३७
गैंडाकोट–८ मा माओवादी केन्द्रको सेलकमिटी र टोलकमिटीहरु सर्वसम्मत रुपमा चयन, सदस्य संख्या झन्डै ६००

नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोट–८ मा नेकपा (माओवादी केन्द्र)को सेल कमिटी र टोल कमिटीहरु सर्वसम्मत रुपमा चयन गरिएको छ । नेकपा (माओवादी केन्द्र) वडा कमिटी, गैंडाकोट–८ को आयोजनामा आज भएको संयुक्त टोल भेलाबाट यहाँ निर्माण भएका तीनवटा सेलकमिटी र छ वटा टोलकमिटीलाई सर्वसम्मत रुपमा अनुमोदन गरिएको हो ।

सुमन काफ्लेको नेतृत्वमा मुक्तिनाथ सेलकमिटी ९ सदस्यीय रहेको छ । अजय गोर्खालीको नेतृत्वमा करङघारी सेलकमिटी ७ सदस्यीय रहेको छ भने मनकुमारी पौडेलको नेतृत्वमा धौलागिरी सेलकमिटी ५ सदस्यीय रहेको छ । 

यसैगरी, विष्णुप्रसाद काफ्लेको अध्यक्षतामा त्रिदेव टोलकमिटी ९ सदस्यीय रहेको छ, जसको इन्चार्ज ठाकुरप्रसाद अर्याल रहेका छन् । बसुनी आचार्यको अध्यक्षतामा विजयनगर टोलकमिटी ७ सदस्यीय रहेको छ, जसको इन्चार्ज छन् अर्जुन आचार्य । यमबहादुर थापाको अध्यक्षतामा रहेको ५ सदस्यीय उज्ज्वल टोलकमिटीको इन्चार्ज दुर्गाबहादुर राना रहेका छन् । प्रेमबहादुर कुमालको अध्यक्षतामा रहेको ५ सदस्यीय बेलटारी टोलकमिटीको इन्चार्ज छन् दिपक पौडेल । ५ सदस्यीय बेलटाँणी टोलकमिटीका इन्चार्ज र अध्यक्ष क्रमशः माधव चालिसे र खुमाकान्त पौडेल रहेका छन् ।

नेकपा (माओवादी केन्द्र)का वडा अध्यक्ष दुर्गाजीत कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशका सचिवालय सदस्य धनप्रसाद सापकोटाले ‘फुटले हामीलाई कमजोर बनाएको र यो पार्टी कमजोर भयो भने तपाईं–हामी कमजोर हुने, पार्टी बलियो भए तपाईं–हाम्रै मनोबल बढ्ने’ भन्दै माओवादी पार्टीलाई बलियो बनाउन सबैजना मिलेर लाग्नुपर्ने बताए । ‘माओवादी आन्दोलनको र परिवर्तनको मूलधार पार्टी यही हो’, उनले भने, ‘यही पार्टीमा जनताको आकर्षण छ ।’ त्यसैले अबको १० वर्षसम्म यो देश माओवादीमय हुने आफ्नो आकलन रहेको उनले सुनाए । 

जिम्मेवारी लिएर पूरा गर्न सकिँदैन भने त्यो पार्टीप्रतिको घात हुने बताउँदै पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य दुर्गादत्त ढुंगानाले भने, ‘जति सकिन्छ त्यति जिम्मेवारी लिऔं, लिएको जिम्मेवारी इमानदारीकासाथ पूरा गरौं ।’ पार्टी सानो हुँदैमा नछोड्न र शक्तिमा पुग्दा पनि पदका लागि लछाचुँडी नगर्न सबैमा उनको आग्रह छ । 

वडा कमिटी अध्यक्ष दुर्गाजीत कुँवरले १८४ जना संगठित सदस्य र अन्य साधारण सदस्यसहित अहिले गैंडाकोटको ८ नं. वडामा पार्टी सदस्य संख्या ५९० पुगिसकेको जानकारी दिए । भने, ‘यही रफ्तारमा अगाडि बढ्ने हो भने अब यस ८ नं. वडामा एक्लै लडेपनि हामी जित्छौं ।’ आफूलाई सुरुमा भोजराज पौडेलले यस पार्टीमा प्रवेश गराएको उनले बताए । आफू प्रहरी सहायक निरीक्षकबाट निवृत्त भएको फौजी मान्छे भएकोले एकपटक लागेपछि लागेको लाग्यै हुने भन्दै उनी भन्छन्, ‘शरीरले साथ दिएसम्म यस पार्टीको लागि योगदान गर्नेछु ।’

वडा कमिटी सदस्य चन्द्रप्रसाद आचार्यद्वारा सञ्चालित कार्यक्रममा पार्टीको जिल्ला संयोजक समेत रहेका प्रदेश सचिवालय सदस्य मित्रशरण शर्मा, नगर अध्यक्ष युवराज रिमाल, वडा कमिटी सदस्य छविलाल सुवेदी लगायतको पनि सहभागिता रहेको थियो । 
    
 

प्रतिक्रिया दिनुहोस