हल्लै नगरी एक हप्ताभित्रै नेकपा मालेले किन गर्दैछ चितवनमा महाधिवेसन ?

सफल खबर संवाददाता

विहीबार, २५ कार्तिक २०७८, १७ : ३९
हल्लै नगरी एक हप्ताभित्रै नेकपा मालेले किन गर्दैछ चितवनमा महाधिवेसन ?

चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले चितवनमा दशौँ महाधिवेशनको तयारी गरिरहेका बेला नेकपा (माले) ले यसै हप्ता कुनै हल्लाखल्ला नगरी चितवनमै पार्टी महाधिवेशन गर्ने भएको छ। २४ वर्षअघि एमालेबाट विभाजित भई बनेको सीपी मैनाली नेतृत्वको मालेले चितवनमा विना हल्लाखल्ला पार्टीको आठौँ महाधिवेशन गर्न लागेको हो। 

भरतपुरको नारायणी कला मन्दिरमा २७ कार्तिकमा उद्घाटन भएपछि सुरु हुने मालेको आठौँ महाधिवेशन २९ कार्तिकसम्म जारी रहनेछ। २०५८ देखि निरन्तर पार्टीको महासचिव रहँदै आएका महासचिव सीपी मैनालीलाई नै यसपटक पनि पार्टी महाधिवेशनले मुख्य नेतृत्वमा निर्वाचित गर्नेछ। ‘नियमित रुपमा पार्टी महाधिवेशन गर्नुपर्ने प्रावधान अनुसार चितवनमा सातौँ महाधिवेशन गर्न लागेका हौँ’ मालेका महासचिव सीपी मैनालीले भने, ‘६ वर्षभित्र महाधिवेशन गर्नुपर्ने कानूनी प्रावधान भएपनि साढे पाँच महिनाभित्रै महाधिवेशन गर्न लागेका हौँ।’ 

मालेको सातौँ महाधिवेशन २५–२८ वैशाख २०७३ मा काठमाडौँमा भएको थियो । कानूनी प्रावधान अनुसार, नियमित रुपमा गर्नुपर्ने महाधिवेशन भएकाले पार्टी विधान, राजनीतिक लाइन सम्बन्धी छुट्टै नीति यो महाधिवेशनबाट तय हुने कार्यक्रम नभएको महासचिव मैनालीले बताए। कानूनी प्रक्रिया पुरा गर्न आयोजना गरिएकाले महाधिवेशनको उद्घाटन कार्यक्रममा अन्य पार्टीबाट अतिथिहरू समेत निम्त्याइएका छैनन्। ‘सबै पार्टी आ–आफ्नै लडाईँमा छन्। त्यसैले हामीले उद्घाटनमा अरु कसैलाई बोलाएका छैनौँ’ मैनालीले भने, ‘हामी यो महाधिवेशन विना हल्लाखल्ला शान्त रुपमा सम्पन्न गर्न चाहन्छौँ।’ 

प्रतिक्रिया दिनुहोस