आगामी निर्वाचनपछि कांग्रेसको एकल सरकार बन्छ : डा महत

रासस

बुधबार, १७ कार्तिक २०७८, १४ : ५१
आगामी निर्वाचनपछि कांग्रेसको एकल सरकार बन्छ : डा महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले आगामी निर्वाचपछि नेपाली कांग्रेसले बहुमत ल्याउने र कांग्रेसको एकल सरकार बन्ने बताएका छन । 

आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने “अब हुने स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचमा नेपाली कांग्रेसको बहुमत आउनेछ र कांग्रेसले नै सरकार निर्माण गर्नेछ ।”

अहिले सरकार गठबन्धनमा भए पनि आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउने उनको दाबी थियो । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेसँगै देशका भ्रष्टाचार नियन्त्रण हुने र कोभिडबाट क्षति पुगेका क्षेत्रहरुको पुनर्निर्माण भई देश विकासको मार्गमा अघि बढ्ने बताए । 

सहमहामन्त्री डा महतले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमै सम्पन्न हुने दाबी गरे । उनले भने, “पार्टीको महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ, मैले महामन्त्रीमा उम्मेदवारी दिन्छु ।” 

उनले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई आजैदेखि निर्वाचनको तयारीमा लाग्न पनि आह्वान गरे। उनले भने , “पार्टीको आसन्न महाधिवेशनको तयारीमा लाग्नुहोस्, महाधिवेशनको तयारीसँगसँगै निर्वाचनको तयारी पनि थाल्नुहोस् ।” 

डा महतले हाल देशको सर्वोच्च अदालतमा देखिएको विवाद अदालत आफैँले समाधन गरोस् भन्ने आफूले चाहेको बताए । उनले भने, “अहिले सर्वोच्च अदालतमा जुन विवाद छ, त्यसले न्याय सम्पादनमा समेत समस्या सिर्जना गरेको छ । यो न्यायालयको विवादको त्यहीँ सर्वोच्चबाटै समाधानको निकास आओस् भन्ने हामी चाहन्छौँ ।” 

उनले केपी शर्मा ओलीको नेतृत्वको सरकारले ताप्लेजुङको विकासमा महत्व नदिएको आरोप पनि लगाए । पाथीभरालाई धार्मिक पर्यटकका रुपमा विकास गर्नु आवश्यक रहेको समेत उनले बताए । तमोर कोरिडोरलाई सरकारले प्राथमिकतामा राखेर विकास गर्न आवश्यक रहेको पनि उनले बताए। 
 

प्रतिक्रिया दिनुहोस