‘संघियता, गणतन्त्र, समानुपातिक समावेशी र धर्म निरपेक्षता माओवादीको पुँजी’ : वाग्मती प्रदेश अध्यक्ष दाहाल

विकास र रक्षाका लागि माओवादी अझ शसक्त भएर लाग्नुपर्छ

सफल खबर संवाददाता

बुधबार, १७ कार्तिक २०७८, ११ : ३४
‘संघियता, गणतन्त्र, समानुपातिक समावेशी र धर्म निरपेक्षता माओवादीको पुँजी’ : वाग्मती प्रदेश अध्यक्ष दाहाल

चितवन । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं वाग्मती प्रदेश अध्यक्ष नारायण दाहालले समाज परिवर्तन र राज्यको अग्रगामी रूपान्तरणमा मुख्य भूमिका माओवादीले खेलेको बताएका छन् । उनले मुलुकमा आएको संघियता, गणतन्त्र, समानुपातिक समाबेसी र धर्मनिरिपेक्षता माओवादीको पुँजी भएकोले यसको विकास र रक्षाका लागि माओवादी अझ शसक्त भएर लाग्नुपर्नेमा जोड दिएका छन् । 

स्वर्गिय गंगामाया दाहालको स्मृतिमा बुधवार दाहाल निवास कृष्णपुरमा आयोजित श्रद्धान्जली सभालाई सम्बोधन गर्दै  दाहालले अब पुष्पकमल दाहाल (प्रचण्ड) ले नेतृत्व गरेको माओवादी केन्द्रबाट मात्रै रुपान्तरण र विकास सम्भव रहेको बताए ।  गंगामाया दाहालले परिवर्तन र रूपान्तरणको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको बताउदैं उनले स्वर्गिय आमाबाट हामी बॉचेकाहरूले उनको अनुसरण गर्दै जानुपर्ने बताए ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेका दाहालले समाज रूपान्तरणका लागि बडो गम्भीर भएर चेतनाका साथ कम्युनिष्टहरु अगाडी बढ्नुपर्नेमा जोड दिए ।  सामाजिक संस्कार र रितिरिवाजको परम्परा थेग्नका लागी नभई रूपान्तरण र परिमार्जन गर्दै जानुपर्ने बताए । वस्तुगत ढंगले समाजको रूपान्तरण र बदल्न सबैले साझा संकल्प गर्नुपर्ने उनको भनाई थियो ।

समाज रूपान्तरणका लागि लडेका अगुवाहरू अरू भन्दा एक कदम अगाडी बढ्नै पर्ने बताउदैं उनले राजनितिकर्मीहरूले त्यसको नेतृत्व गर्नुपर्नेमा समेत उनले जोड दिए । समसामयिक राजनितिक परिस्थिको बारेमा चर्चा गर्दै उनले अब मुलुक छिट्टै निर्वाचनमा जाने भएकाले राजनितिको केन्द्र चितवनमा माओवादीले जित्नै पर्नेमा धारणा व्यक्त गरे । चुनावमा केन्द्रित हुन सबै नेता कार्यकर्ताहरू आग्रह गर्दै उनले चुनावमा शसक्त ढंगले अगाढी बढन समेत आग्रह गरे । 

चितवन र भरतपुरको विकास देखेर आत्तिएकाहरु नानाथरी अभिव्यक्ति दिदै हिडेकाहरूप्रति आक्रोस व्यक्त गर्दै उनले निती, बिचार रकार्यक्रमका आधारमा स्वच्छ आलोचनाको संस्कार बसाल्न समेत सुझाए । कार्यक्रममा वाग्मती प्रदेश इन्चार्ज इश्वरी भट्टराईले देशको बिकास र रुपान्तरण प्रचण्ड नेतृत्वको माओवादी केन्द्रबाट मात्र सम्भब हुने भएकाले क्रान्तिकारी र रूपान्तरणकारी शक्तिहरुका बिच बृहद एकताको खाँचो रहेको औल्याए ।

उनले एकताका लागि पहल भईरहेको भन्दै बृहद एकताले मात्र नामधारी कम्यूनिष्टहरूले छरेका भ्रम चिर्ने सकिने बताए । कार्यक्रममा भरतपुर महानगर पालिका प्रमुख रेनु दाहाल ,प्रदेश सचिवालय सदस्य तथा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, प्रदेस सदस्य तथा संसद कन्चन खनाल लगायतले स्वर्गिय दाहाल प्रति श्रद्धान्जली मन्तव्य व्यक्त गरेका थिए ।  सो अवसरमा गंगामाया दाहालका छोरा वाग्मती प्रदेशका संसद तथा माओवादी केन्द्र चितवनका सह ईन्चार्ज घनश्याम दाहालले गंगामायाले पार्टी र आन्दोलनमा लाग्न दिएको प्रेरणा र परिवारको भूमिकाको बारेमा जानकारी गराएका थिए ।

१९९९ सालमा कास्कीमा जन्मेकी दाहालको ७९ बर्षको उमेरमा निधन भएको हो । दाहाल फोक्सो र निमोनिया रोगबाट ग्रसित थिईन् ।  कार्यक्रममा  माओवादीका सल्लाहकार भूमिस्वर कंडेल, नेकपा समाजवादीका उपाध्यक्ष कृष्णराज लब्ली, राजमो नेपालका केन्द्रिय सदस्य डम्बर पुरी, जसपा नेपाल चितवनका अध्यक्ष प्रेम भूजेल लगायतले स्वर्गिय गंगामाया दाहाल प्रति श्रद्धान्जली व्यक्त गर्दै परिवारजन प्रति समबेदना व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष परियारले गंगामायॉ दाहालको योगदानको उच्च प्रशंसा गर्दै दाहाल प्रति श्रद्धान्जली र परिबारजनमा समवेदना व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस