ज्ञानेश्वर सामुदायिक वन महानगरको पर्यटकिय गन्तव्य भएकाले प्रचारप्रसार र प्रर्बद्धनमा सहयोग गर्छौ : महानगर प्रमुख दाहाल

सफल खबर संवाददाता

मंगलबार, १६ कार्तिक २०७८, ०८ : ५७
ज्ञानेश्वर सामुदायिक वन महानगरको पर्यटकिय गन्तव्य भएकाले प्रचारप्रसार र प्रर्बद्धनमा सहयोग गर्छौ : महानगर प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आन्तरिक पर्यटकको आकर्षणको केन्द्रविन्दुमा रहेको ज्ञानेश्वर सामुदायिक वनलाई महानगरले छनौट गरेको प्रमुख ७ वटा पर्यटकिय गन्तव्य भित्र छनौट गरिएको बताएकी छिन् । 

भरतपुर वडा नम्बर १६ सानो गढीं मा आयोजित ज्ञानेश्वर सामुदायिक वन वन उपभोक्ता समुहको २४ औं परिषद भेला तथा १० औं अधिवेशनको उदघाटन गर्दै उनले सो कुरा बताएकी हुन् । कार्यक्रमको उदघाटन गर्दै प्रमुख दाहालले ज्ञानेश्वर सामुदायिक वन पर्यटकिय गन्तव्य बन्दै गएकोले महानगरले यसको प्रचारप्रसार तथा प्रबद्र्धनमा सहयोग गर्ने बताईन् । ‘नारायणी नदीसँग जोडिएको यो सामुदायिक वनको आफ्नै महत्व छ’, उनले भनिन,‘यसलाई नदीबाट जोगाउन र सुरक्षित बनाउन तटबन्ध गराउन पहलकदमी लिन्छु ।’

उनले महानगरको पर्यापर्यटन शिर्षक अन्तर्गत रहेर यस वन समुहको प्राथमिकतामा रहेको कार्यक्रमको लागि बजेट सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ज्ञानेश्वर सामुदायिक वनमा खुला चिडिंयाखाना निर्माणको लागि महानगरबाट डिपीआर तयार भईसकेको बताउदैं उनले बजेटको लागि पर्यटन मन्त्रालय तथा सरोकारवाला पक्षसंग पहल गरि संघिय कार्यक्रममा राख्ने प्रतिबद्धता व्यक्त गरिन् । 

उनले वन भित्र मानव र वन्यजन्तु द्धन्द्ध न्यूनिकरणका लागि महानगरको २५ लाख बजेटबाट निर्माण भईरहेको कम्पाउण्ड वाल सहितको मेसतार र जालीको लागि सहयोग गर्ने बताईन् । शहीद पार्क निर्माणको लागि ३५ लाख बिनियोजन भई पहिलो चरणको काम सम्पन्न पश्चात थप कामको लागि आवश्यक पर्ने बजेटका लागि आफु लागि पर्ने उनले उल्लेख गरिन् । 

कार्यक्रममा डिभिजन कार्यालयका सहायक वन अधिकृत बालकृष्ण खनाल, फेकोफन चितवनका अध्यक्ष भरत ढुंगाना, सामुदायिक वन उद्यम तथा पर्यापर्यटन राष्ट्रिय संजालका केन्द्रिय अध्यक्ष सुरविर पोखरेल तथा भरतपुर १६ नम्बर वडाका अध्यक्ष अमृतराज हमालको सहभागिता रहेको थियो । कार्यक्रम राजन अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।    
 

प्रतिक्रिया दिनुहोस