अर्ली इलेक्सनको हल्ला मात्र हो : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, १३ कार्तिक २०७८, २० : ३९
अर्ली इलेक्सनको हल्ला मात्र हो : प्रचण्ड

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्ली इलेक्सन नहुने दाबी गरेका छन् । उनले भने, “अर्ली इलेक्सनको हल्ला त्यतिकै चलेको छ, तर हुँदैन, गठनबन्धनकै सरकार पूरा कार्यकाल रहन्छ ।”

जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले लामो समयदेखि प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत अनावश्यकरूपमा संसद् अवरुद्ध गरेकाले अब अध्यादेशबाट भए पनि महत्वपूर्ण विधेयक अगाडि बढाइने बताए । उनले भने, “नागरिकता विधेयकलगायत महत्वपूर्ण विधेयक अध्यादेशबाट नै भए पनि अगाडि बढाउने तयारीमा छौँ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले नागरिकता विधेयक राष्ट्रिय सहमतिका आधारमा पास गर्ने चाहना रहेको बताए । उनले भने, “नागरिकता विधेयकका लागि हामी राष्ट्रिय सहमतिबाटै जान चाहन्छौँ, राष्ट्रिय सहमति नभए अध्यादेशबाटै भए पनि जान्छौँ ।”

प्रचण्डले मुलुकमा अहिले न्यायालयको क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा गठबन्धनका दलहरुले संयुक्त धारणा बनाउने प्रक्रियामा रहेको बताए । प्रचण्डले अहिले गठबन्धन सरकार रहेको र गठबन्धनमा कुनै किसिमको समस्या नरहेको सबै राम्रोसँग चलिरहेको जनाउँदै उनले भने, “न्यायालयमा समस्या देखिएकाले गठबन्धनका नेता काठमाडौँमा केन्द्रित भएर एउटा धारणा बनाउने प्रक्रियामा रहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस