७१ दिनमा ढलेको अष्टलक्ष्मीको सत्ता !

सफल खबर संवाददाता

बुधबार, १० कार्तिक २०७८, १९ : २४
७१ दिनमा ढलेको अष्टलक्ष्मीको सत्ता !

मकवानपुर । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार गठन भएको ७१ दिनमा ढल्न पुगेको छ । प्रदेशसभामा अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएकी हुन् ।

नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएसँगै पार्टी विभाजनको क्षति कम गर्ने रणनीति अनुसार एमालेले डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यको नेतृत्वमा गठन गरेको थियो । तर एमालेको यो ‘फर्मुला’ले शाक्य नेतृत्वको सरकार जोगिन भने सकेन ।

तत्कालीन समयमा माधव नेपाल निकट मानिने उनी मुख्यमन्त्री पाउने भएपछि माधव नेपाल समूह छाडेर एमालेमै बसेकी थिइन् भने भदौ २ मा मुख्यमन्त्रीको शपथ लिएकी थिइन् । अल्पमतमा परेपछि शाक्यले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेकी थिइन् भने लगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएकी थिइन् ।

राजीनामा दिएसँगै शाक्यले आफू संविधान विपरीत सत्तामा नबसेको दाबी गरेकी छन् । राजीनामा घोषणा गरेर प्रदेशसभा बैठकबाट बाहिरिएकी उनले यतिन्जेल आफू संविधानतः सत्तामा रहेको र आज राजीनामाको घोषणा गरेको बताइन् । पत्रकारसँग कुरा गर्दै उनले भनिन्, ‘संविधानतः ३० दिनभित्र विश्वासको मतसम्बन्धी सूचना जारी गर्नुपर्ने र त्यसपछि छलफल तथा थप प्रक्रिया अघि बढ्ने हो । हामीले ३० दिनभित्रै सूचना जारी गरेर विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाएका कारण संविधानअनुरुप नै सत्तामा यतिन्जेल रहेँ ।’

शाक्यले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलका नेता पाण्डेले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा  दावी पेश गरेका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेसँगै बुधबार नै पाण्डेले काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहितका सांसदको समर्थनमा दावी पेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस