रोटरीको ह्विलचेयर वितरण कार्यक्रम

बुधबार, १२ बैशाख २०७५, १५ : २९
रोटरीको ह्विलचेयर वितरण कार्यक्रम

देवचुली  । स्वार्थ भन्दा माथी सेवाको भावनाले अघि बढेको नारायणगढ रोटरी क्लबले आज एक कार्यक्रम बीच देवचुली नगरपालिकाका मेयर श्री पूर्णकुमार श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा पाँचवटा ह्विलचेयर वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संयोजक तथा क्लबका पूर्व अध्यक्ष रोटरियन विज्ञानलाल श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रमको सभापति अध्यक्ष रोटरियन नारायण प्रधान हुनुहुन्थ्यो । विशिष्ट अतिथी  उप–मेयर पार्वता तिवारी, अतिथीहरूमा क्लबका संस्थापक अध्यक्ष रोटरियन निरञ्जन प्रधान, पत्रकार महासंघ–नवलपरासीका अध्यक्ष श्री होमराज रानाभाट, चित्रवन लायन्स क्लबका पूर्व अध्यक्ष श्री श्यामकृष्ण श्रेष्ठ र देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री मानबहादुर खड्का रहनुभएको थियो ।

अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचेयर सहयोग प्रदान गर्न पाएकोमा नारायणगढ रोटरी क्लब परिवार गौरवान्वित भएको क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले बताउनुभयो । पन्ध्र वर्ष पार गरी सोह्रौँ वर्षमा प्रवेश गरेको यस क्लबले सामाजिक सेवाका मानवीय कार्यहरूलाई निरन्तरता दिने प्रधानले बताउनु भयो । सोही अवसरमा देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले नारायणगढदेखि देपचुलीसम्म आएर अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचेयर वितरण गरेकोमा देवचुलीका सम्पूर्ण नागरिकहरूका तर्पmबाट क्लबलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

स्वार्थ भन्दा माथी रहेर मानविय सेवा गर्दै आएको नारायणगढ रोटरी क्लबका सदस्यहरूको व्यक्तिगत सहयोगबाट पाँचथान ह्विलचेयर प्रदान गरिएको क्लबका अध्यक्ष नारायण प्रधानले बताउनुभयो । साथै आगामी दिनहरूमा पनि यस किसिमका सहयोगहरूको साथसाथै यस क्षेत्रको शिक्षा, स्वास्थ्य र सामाजिक विकासका कार्यक्रमहरूमा क्लबले सहभागीता जनाउने अध्यक्ष प्रधानले बताउनुभयो ।

देवचुली नगरपालिका–११ का मोहन गिरी, भोलानाथ धिताल, ओमकुमार ठाडा, वडा नं. १३ का खिनौरा बोटे र वडा नं. १४ का दिलीप सुनारज्यूलाई मेयर श्री पूर्णकुमार श्रेष्ठ र क्लबका अध्यक्ष नारायण प्रधानज्यूले संयुक्त रूपमा ह्विल चेयर वितरण गर्नुभएको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका १७ वटा वडाका वडाअध्यक्षज्यूहरू, सदस्यज्यूहरू, नवलपरासीका पत्रकार साथीहरू लगायत क्लबका पूर्व अध्यक्ष रमेश श्रेष्ठ, उपाध्यक्ष अनुकूल श्रेष्ठ, कोषाध्यक्ष तारानाथ पाठक, सदस्यहरू किरणनारायण श्रेष्ठ, नगेन्द्रबहादुर श्रेष्ठ, बसन्तबहादुर पान्डेको उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस