ग्लोबल आईएमई र एनसेलबीच समझदारी, खाता खोले डाटासहितको सिमकार्ड

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, १९ : ४३
ग्लोबल आईएमई र एनसेलबीच समझदारी, खाता खोले डाटासहितको सिमकार्ड

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र एनसेलबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाला ग्राहकलाई ब्यालेन्स र मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड उपलब्ध गराउने सहमति भएको हो।

समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेल एक्जियाटा लिमिटेडका कार्यकारी निर्देशक एण्डी चोङले मंगलबार हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने, वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरु एवम् उनीहरुका परिवार र बाह्य रेमिट्यान्समार्फत आय भएका नेपालीहरुले ग्लोबल आइएमई बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोली निशुल्क सहयात्री सिमकार्ड प्राप्त गर्न सक्नेछन्।

उक्त सहयात्री सिममा ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गर्न २५० एमबी डाटा प्याक निशुल्क उपलब्ध हुनेछ। यसैगरी सहयात्री सिमकार्डमा रु २० मेन ब्यालेन्स, एनसेल नेटवर्कभित्र फोन गर्न २० मिनेटको टकटाइम, २० वटा एसएमएस तथा २०० एमबी डाटा प्राप्त हुनेछ। यसका साथै सिम सुचारु गरिएको २ दिनभित्र रु १०० वा सो भन्दा माथिको रिचार्जमा १०० मिनेट एनसेल टकटाइम तथा १०० एमबी डाटा पनि पाइनेछ।
 

प्रतिक्रिया दिनुहोस