बैतडीको ढुंगाडका ६० व्यक्ति टापुमा फसे, दुई सय बिगाह जमीन डुबानमा

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, १४ : ४१
बैतडीको ढुंगाडका ६० व्यक्ति टापुमा फसे, दुई सय बिगाह जमीन डुबानमा

काठमाडौं । अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा परी ६० जना फसेका छन् । बैतडीको सिगास गाउँपालिका-५ ढुंगाडमा १० परिवारका ६० जना सेतीले घेरिएको टापुमा फसेका हुन्। 

सोमबार राति पानी परेसँगै बाढी आएपछि सेती नदी छेउकै बस्तीका मानिस अन्यत्र सरेका थिए । तर, केहि मानिस नसर्दा अहिले फसेको प्रहरीले जनाएको छ। बाढीले स्थानीय उद्धव महराको दुई तले घर पनि बगाएको सिगास–५ का वडाअध्यक्ष रामबहादुर धामीले बताए । 

बाढीले डोटी र बैतडी जोड्ने पुल समेत भत्काएको छ । 

बाढीले मच्चाएको बितण्डाबारे सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएपछि उद्धारका लागि हेलिकोप्टर आउन लागेको बताइएको छ ।  

सिगास–५ मै एक सय ५० बिगाहा भन्दा बढी खेत नदीको डुबानमा परेको छ । पाक्नै लागेको धान, कोदो तथा बदाम खेती बगरमा परिणत भएको छ। साथै, सिगास–६ को लेकममा बाढीले ५० बिगाहाभन्दा बढी जमीन डुबान भएको छ ।

प्रतिक्रिया दिनुहोस