काठमाडौँ । च्याउ बिक्रीबाट वालिङ – २ धौखोलाका हरि अर्यालले राम्रो आम्दानी गर्न सफल भएका छन् । झण्डै नौ वर्ष खाडीका मुलुकहरुमा पसिना बगाउनुभएका अर्यालले स्वदेश फर्किएसँगै ‘भौभका कृषि फार्म’ मार्फत व्यावसायिकरुपमा च्याउ खेती गरी राम्रो आम्दानी गर्न सफल भएका छन् ।
विगत तीन वर्षदेखि व्यावसायिकरुपमा च्याउ खेती थाल्नुभएका अर्यालले वार्षिकरुपमा मनग्य आम्दानी गर्दै आउनुभएको हो । यूट्यूबमा देखेकै भरमा च्याउ खेतीप्रति आकर्षित हुनुभएकाले अर्यालले पहिलो वर्ष २५० मुढा सीताके च्याउ र २५० पोका कन्य जातको च्याउ खेतीबाट व्यवसाय थालेका हुन् ।
च्याउको संभावना र माग राम्रो देखेपछि दोस्रो वर्षमा दुई हजार मुढामा सीताके च्याउ र पाँच सय वटा पोका कन्य जातको च्याउ लगाएको उनले बताए ।
“छ जनाको परिवारको अहिलेको मुख्य आम्दानीको स्रोत भनेकै च्याउ खेती हो”, उहाँले भन्नुभयो, “हाल दुई ठाउँमा रहेको फर्ममा झण्डै दश हजार मुढामा सीताके च्याउ छ ।”
व्यावसायिक च्याउ खेतीको विकास र विस्तारका लागि आवश्यक मेसिन, उपकरण खरिद, च्याउ घर निर्माण, मुढा खरिद गर्दा झण्डै ९० लाख लगानी भएकोबताए ।
अर्यालले हालसम्म च्याउ बिक्रीबाट ४० लाख आम्दानी गरेको बताए । शुरुका वर्षहरुमा लगानी धेरै भएपनि अब केही वर्ष लगानी नगरी आम्दानी लिन सकिने अर्यालको भनाइ थियो । शुरुका २÷३ वर्ष निक्कै संघर्ष गर्नुपरेपनि पछि सहज भएको छ । उनले सीताके च्याउ प्रतिकेजी रु. ५०० र कन्य च्याउ प्रतिकेजी रु. २५० मा बिक्री गर्दै आएका छन् ।
“उत्पादन गर्न झ्याउ मान्न भएन, उत्पादन जति गरेपनि बजारको कुनै समस्या छैन”, उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएको च्याउ काठमाडौं, पोखरासहितका स्थानीय बजारहरुमा खपत हुँदै आएको छ ।”
मुढाको आकार अनुसार न्यूनतम २÷३ केजीदेखि अधिकतम ७÷८ केजी एक पटकमा उत्पादन लिन सकिने छ । एकपटक तयार पारेको मुढाबाट ५÷६ वर्ष उत्पादन लिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ३० असोज २०७८, २० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युट्युब हेरेर च्याउखेती गर्न थाले वडाध्यक्ष
वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी
कैलालीका किसान व्यावसायिक च्याउखेतीमा