युट्युब हेरेर च्याउखेती गर्न थाले वडाध्यक्ष

सफल खबर संवाददाता

बुधबार, ०२ माघ २०८१, ०८ : २९
युट्युब हेरेर च्याउखेती गर्न थाले वडाध्यक्ष

नवलपरासी । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन्- यहाँका स्थानीय तहका जनप्रतिनिधिले। नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यबिन्दु-३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडिओ हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गरेका छ। 

समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर अपराध भइरहेको समयमा उनले भने युट्युबमा राखिएका कृषिसम्बन्धी भिडिओबाटै सिकेर च्याउखेती सुरु गरेका हुन्।

‘मैले च्याउखेतीका बारेमा कुनै औपचारिक तालिम लिएको छैन’, उनले भने, ‘युट्युबमा आउने भिडिओ हेरेर च्याउखेतीका बारेमा धेरै कुरा बुझेपछि अहिले व्यावसायिक रूपमा आफैँले खेती गरेको छु, च्याउ उत्पादन निकै राम्रो भइरहेको छ।’

वडाध्यक्ष महतोले युट्युबमा राखिएको भिडिओबाट प्रेरित भएर एमडी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी आफ्नै घरमा व्यावसायिक रूपमा च्याउखेती सुरु गरेको बताए।

वडाध्यक्ष महतोले सात सय २० वर्गफिटमा संरचना निर्माण गरी डल्लेच्याउ तथा चार सय ५० वर्गफिटमा छुट्टै संरचना बनाएर पातेच्याउको व्यावसायिक खेती गरिरहेका छन्। च्याउखेतीका लागि निर्माण भएका दुईवटा संरचनाबाहेक आफूले रु दुई लाख ७५ हजार लगानी गरेको उल्लेख गर्दै खेतीबाट सन्तुष्ट रहेको बताए।

महतोले उत्पादन गरेका च्याउ घरबाटै बिक्री हुने गरेको छ। धेरै भएको च्याउ चोरमारा, अरुणखोला, डण्डा, कावासोती तथा नारायणगढको तरकारी बजारसम्म पुर्‍याउने गरेको उनले बताए।

‘च्याउ उत्पादन राम्रो भए पनि बजारको अलि समस्या छ, उत्पादन गर्ने क्षमतासम्म किसानको हातमा हुन्छ तर बजारीकरण भने व्यापारीको हातमा हुन्छ’, उनले भने, ‘यस क्षेत्रमा बजारीकरणको अलि समस्या नै छ, मेरो आज उत्पादन भएको च्याउ लगेर बिक्री गर्न पाइनँ।’

गाउँका उपभोक्ता च्याउ खोज्दै आफूकहाँ आउने गरेको भए पनि बजारसम्म भने आफैँले ढुवानी गरिदिनुपर्ने बाध्यता रहेको उनले बताए। च्याउ टिप्न ढिला हुँदा बिग्रिएर जाने भन्दै उनले बिक्री नभएको ताजा च्याउ सुकाएर धुलो बनाएर राख्ने बताए।

‘किसान अब उत्पादन क्षेत्रमा जोडिनुपर्छ भनेर राज्य लागिरहेछ, त्यसमा जोडिएपछि नागरिकलाई पनि भन्न सजिलो हुन्छ भनेर यो खेती सुरु गरेँ’, उनले भने, ‘मैले पनि कृषि गरेर उत्पादन गरिरहेको छु, तपाईँ पनि गर्नुस् भनेर किसानलाई भन्न सजिलो हुन्छ।’

प्रतिक्रिया दिनुहोस