गजेन्द्र हमाललाई मन्त्री बनाइनु गलत : अर्जुन नरसिंह केसी

सफल खबर संवाददाता

शनिबार, २३ असोज २०७८, २१ : ११
गजेन्द्र हमाललाई मन्त्री बनाइनु गलत : अर्जुन नरसिंह केसी

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले गजेन्द्र हमाललाई मन्त्री बनाइनु गलत भएको बताएका छन् ।  उनले हमाललाई मन्त्री बनाइएको विषयमा प्रधानन्यायाधीशसमेत जोडिएको उल्लेख गर्दै यसमा आफूलाई चित्त नबुझेको बताए । 

‘सांसद नै नभएको मान्छेलाई सट्टा काठमाडौंको एकजना निर्वाचित भएकोलाई पठाइदिएको भए म पनि खुसी हुन्थेँ। ८४ दिनमा बल्लबल्ल मन्त्रिपरिषद् बनेको छ। कसैले नचिनेको मान्छेलाई किन मन्त्री बनाउनु पर्यो ?

हाम्रा सभापतिले माथिको सभापतिसँग सोधेर हामीलाई पनि बताइदिनुपर्यो, मैले बुझ्न सकेको छैन’, नेपाली काँग्रेस तारकेश्वर नगरपालिका वडा नम्बर ४ ले शनिबार गुह्वेश्वरीमा आयोजना गरेको चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा केसीले भने । 

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्दै उनले ‘मैले जे गरेपनि हुन्छ’ भन्ने प्रवृत्तिले पार्टी नचल्ने समेत बताए । काँग्रेस सर्वसत्तावादी पार्टी नभएको स्पष्ट पार्दै केसीले विगतमा काँग्रेसले नै अग्रगमनको नेतृत्वको गरेको बताए । उनले २४ सै घण्टा काँग्रेसलाई गाली गर्ने कम्युनिस्ट लगायत सबैको विचारको सम्मान काँग्रेसले गर्ने भन्दै लोकतन्त्रमा प्रतिस्पर्धा भने स्वाभाविक हुने बताए । 

उनले सबै नेता कार्यकर्ता एकजुट भएर अघि बढ्ने हो भने काँग्रेसलाई पहिलो पार्टी बनाउन कसैले रोक्न नसक्ने बताए । पार्टीभित्रको गुटउपगुटकै कारण पार्टी कमजोर बनेको स्वीकार गर्दै उनले सामूहिक नेतृत्वका साथै वैचारिक पुनर्जागरण जरुरी भएको बताए ।

प्रतिक्रिया दिनुहोस