चित्रसेन अधिकारी कांग्रेसको भरतपुर महानगर सभापतिमा निर्वाचित

सफल खबर संवाददाता

सोमबार, ११ असोज २०७८, १० : १७
चित्रसेन अधिकारी कांग्रेसको भरतपुर महानगर सभापतिमा निर्वाचित

चितवन । नेपाली कांग्रेसको भरतपुर महानगरपालिका सभापतिमा चित्रसेन अधिकारी निर्वाचित भएका छन् । अधिकारी ६४९ मत ल्याएर निर्वाचित भएका हुन् । उनी रामचन्द्र पौडेल समुहका हुन् । आज बिहान सार्वजनिक भएको मत परिणाम अनुसार उनका निकटतम प्रतिस्पर्धी शेरबहादुर देउवा पक्षका भरत अधिकारीले ५४६ मत ल्याएका हुन् । 

अधिकारी निवर्तमान सभापति हुन् भने निर्वाचित चित्रसेन भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष हुन् । भरतपुर महानगरपालिकाको सभापतिका लागि चित्रसेन र भरतसहित हिरामणि अधिकारी, वचन कार्की र अर्जुन रिजालले पनि उम्मेदवारी दिएका थिए । हिरामणी अधिकारीले १२९, कार्कीले ७५ र रिजालले २६ मत प्राप्त गरे ।

उपसभापतिमा बुद्धिकान्त न्यौपाने ६६१ मतसहित र विजय घले ५५६ मतसहित विजयी भएका छन् । उपसभापतिका अन्य उम्मेदवारहरु किशोर गुरुङले ५५४, सुरक्षा रेग्मीले २०७, कृष्णप्रसाद रेग्मीले २०५, शारदा कुमारीले १७२, गीताकुमारी शर्माले १४८, केदारनाथ बरालले ९५ र देवीप्रसाद लुईंटेलले ६६ मत पाए ।

त्यस्तै सचिव पदमा प्रनिशा गुरुङ र कृष्ण बगाले निर्वाचित भएका छन् । गुरुङ ५६४ र बगाले ४५६ मतसहित सचिव पदमा विजयी भएका छन् । यस्तै सहसचिवमा उपेन्द्र पण्डित ५१३ मतसहित र कल्पना पौडेल खड्का ४२० मतसहित विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस