प्रचण्ड–माधव नेपाल बिच कोटेश्वरमा भेटवार्ता, मन्त्रालय भागवन्डा र अध्यादेश फिर्ता लगायतका विषयमा छलफल

सफल खबर संवाददाता

सोमबार, ११ असोज २०७८, ०९ : ०४
प्रचण्ड–माधव नेपाल बिच कोटेश्वरमा भेटवार्ता, मन्त्रालय भागवन्डा र अध्यादेश फिर्ता लगायतका विषयमा छलफल

काठमाडौं । नेकपा–माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । अहिले बिहान माधव नेपाल निवास कोटेश्वरमा दुई नेताबीच भेटवार्ता भएको हो ।

प्रचण्ड अस्वस्थ्य भई अस्पताल भर्ना भई आइतबार साँझ नै डिस्चार्ज भएका पार्टी नेता वर्षमान पुन (अनन्त) लाई भेट गरी नेपाल निवास कोटेश्वर पुगेका हुन् । माधव नेपाल अध्यादेश फिर्ताको लागि उपेन्द्र यादवले गरिरहेको मागमा सहमत थिएनन् ।

कतै ओलीले आफ्नो पार्टीका विरुद्ध सर्वाेच्च अदालतमा हालेको रिटमा अदालतले अध्यादेश फिर्ता लिँदा प्रतिुकल निर्णय लिइदिन्छकी भन्ने भय माधव नेपाललाई छ । त्यही कारण उनी अदालतको फैसला अगाडी सकभर अध्यादेश फिर्ता नलिन जोड गरिरहेका थिए ।

तर आइतबार गठबन्धन दलमा अध्यादेश फिर्ता गर्ने र मन्त्रिपरिषद् बिस्तार गर्ने सहमति जुटेको थियो । आजको क्याबिनेटबाट अध्यादेश फिर्ता लिने तयारीमा सरकार छ । त्यसपछि मन्त्रालय बाँडफाँडको जिम्मा मुख्य चार दलका शीर्ष नेताले आफै लिएका छन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जिम्मा पाएका छन् ।

गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी नहुने बताएको छ । सरकारमा सहभागी नहुने तर सरकारलाई समर्थन गर्ने नीति राष्ट्रिय जनमोर्चाको छ ।  मन्त्रालय भागवन्डा र अध्यादेश लगायतका विषयमा अहिले प्रचण्ड माधव नेपालबीच छलफल भएको बताईएको छ । 

प्रतिक्रिया दिनुहोस