चोरी सिकारमा संलग्न दुईजना भरुवा बन्दुक सहित पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०७ असोज २०७८, ११ : ०४
चोरी सिकारमा संलग्न दुईजना भरुवा बन्दुक सहित पक्राउ

डोटी । चोरी सिकारमा संलग्न भएको आरोपमा खप्तड राष्ट्रिय निकुञ्जभित्र दुई जना पक्राउ परेका छन् । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले निजहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बझाङ खप्तड छान्ना गाउँपालिका–१ का ५९ वर्षीय दिलबहादुर जेठारा र ३५ वर्षीय वीरेन्द्रबहादुर कार्की रहेका छन् । पक्राउ परेकाहरुका साथबाट नेपाली सेनाले एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने पाँच थान गोली, बारुद दुई डिब्बा तथा बन्दुकको केप एक डिब्बा बरामद गरेको सिंहसारदुल गुल्म खप्तडले जनाएको छ ।

गुल्मका अनुसार उनीहरुलाई खप्तड राष्ट्रिय निकुञ्जको पौवागढीबाट पक्राउ गरिएको हो । पक्राउ परेकालाई आवश्यक कानुनी कारबाहीका लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाइएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस