राजपामा अध्यक्ष नै अध्यक्ष , पाटीभित्र समस्या मात्रै

शनिबार, ०८ बैशाख २०७५, १६ : ४२
राजपामा अध्यक्ष नै अध्यक्ष , पाटीभित्र समस्या मात्रै

काठमाण्डौ । सतहमा राजपा एउटा पार्टी हो । तर अझै पनि राजपा भित्र छुट्टा छुट्टै ६ वटा पार्टी रहेको सहजै देख्न सकिन्छ । तराई मधेश लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, नेपाल सदभावना पार्टी, राष्ट्रिय मधेश समाजबादी पार्टी, तराई मधेश सदभावना पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक  मिलेर राजपा गठन भएको हो । पार्टी एकीकरण हुँदा बिभिन्न नेताहरूले एकताको सुत्रधार भन्दै श्रेय लिइरहेका थिए ।  

पार्टीको नेतृत्व  अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले गरिरहेका छन् भने अध्यक्ष मण्डलमा राजेन्द्र महतो, शरत सिंह भण्डारी, अनिल कुमार झा, राजकिशोर यादव, महेन्द्र राय यादव सदस्य रहेका छन् । पार्टीमा कुनै पनि निर्णय गर्दा अध्यक्ष मण्डलमा सर सल्लाह गरि सके सर्बसम्मति नभए बहुमतको आधारमा गर्ने सैद्धान्तिक  सहमति साथ पार्टी निर्माण भएको थियो । तर, पार्टी गठन भएदेखि अहिलेसम्म देखिएको ब्यबहारले पनि पार्टीमा अलगै अलगै ६ वटा गुटहरू रहेको सहजै पुष्टी हुन्छ । पार्टीका ६ गुटको प्रभाव तीन तहको चुनावमा देखिएको थियो । 

टिकट वितरणदेखि निर्बाचन प्रचार प्रसारका क्रममा पनि यस्तो देखियो  । चुनावमा राजपाका उम्मेदवार कुनै एक दलको नभएर पुरानो पार्टीको जस्तो देखिएको थियो । सबै कार्यकर्ताहरू पूर्ब पार्टीका अध्यक्षहरू भएकै क्षेत्रमा केन्द्रित थिए । अहिले पनि ती अध्यक्षहरूको जिल्ला भ्रमण हुँदा विगतकै पार्टीका कार्यकर्ताहरू उनीहरूका वरिपरी रहने गर्छन् ।

जिल्लामा प्रत्येक दुई महिनामा पहिलेकै अलग अलग ६ वटा पूर्ब पार्टीका पुर्ब अध्यक्षहरूले आलैपालो नयाँ पार्टी राजपा नेपालमा नेतृत्व गरिरहेका छन् भने केन्द्रमा महन्थ ठाकुर संयोजक भए पनि बाँकी अध्यक्षहरू सदस्य रहेको अध्यक्ष मण्डलले पार्टीको नेतृत्व गरिरहेका छन् । तर, राजपा पार्टीले हालसम्म स्थायी बिधानसम्म बनाउन सकेको छैन ।

निर्बाचन आयोगमा दल दर्ता गर्नका लागि मात्रै कामचलाउ अन्तरिम बिधान बनाएको छ । राजपा नेपालका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य ब्रिखेशचन्द्र लाल नेतृत्वको विधान मस्यो कार्यदलले बनाएको विधानमा सबै सहमत नभएपछि महाधिवेशनबाट विधान बनाउने सहमति नेताहरुमा भएको थियो । तर महाधिवेशन नहुँदा पार्टीको विधानसम्म बन्न सकेको छैन । 

राजपा नेपालले प्रतिनिधि सभामा हालसम्म संसदीय दलको नेतासम्म चुन्न सकेका छैन । नेता लक्ष्मण लाल कर्णको संयोजकत्वमा संसदीय दलको बिधान मस्यौदा गर्न एउटा कार्यदल बनाई जिम्मेबारी दिइएको छ, नेता लालले लोकान्तरसंग भने, ‘अब उहाँले त्यो विधानको मस्यौदा पार्टीको राजनीतिक समितिको बैठकमा लागेपछि दलको नेता समेत चुनिने छ ।’

प्रतिक्रिया दिनुहोस