शुक्रबारदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला

पत्रपत्रिकाबाट

विहीबार, २४ भदौ २०७८, ०८ : १७
शुक्रबारदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर यही शुक्रबारदेखि खोलिने भएको छ ।       

कोरोना जोखिम कम हुन थालेपछि शुक्रबार बिहान ५ः३० बजेदेखि मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । साढे चार महिना भक्तजनका लागि मन्दिर बन्द गर्नुपरेकामा बिहीबार क्षमापूजा गर्ने तयारी कोषको छ ।

कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने छ । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ ।    

मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ । विशेष पूजा भने शुक्रबारदेखि खुला नगरिने कोषले जनाएको छ । शुक्रबारदेखि मन्दिर खोल्न आज सुरक्षा समितिको बैठक बसी तयारी गरिएको कार्यकारी निर्देशक खतिवडाले सुनाए । गोरखापत्र दैनिकमा खबर छ ।