सरकारले एउटै विदेश नीति अवलम्बन गर्छ : सहमहामन्त्री डा महत

रासस

शनिबार, १९ भदौ २०७८, १७ : ५४
सरकारले एउटै विदेश नीति अवलम्बन गर्छ : सहमहामन्त्री डा महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले सबै मित्रराष्ट्रसँग एउटै विदेश नीति अवलम्बन गर्ने बताएका छन।  रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री डा .महतले वर्तमान सरकारले विदेश नीति अबलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताएका हुन । 

“एउटा मित्रराष्ट्रसँग सम्बन्ध राख्दा एउटा मापदण्ड र अर्को मित्रराष्ट्रसँग सम्बन्ध राख्दा अर्को मापदण्ड बनाउनु हुँदैन”, उनले भने ।उनले वर्तमान सरकारले विश्वासका आधारमा छिमेकी देशबीचको सम्बन्ध अगाडि बढाएको बताए। डा महतले नेपालको परराष्ट्र नीतिको मूलमन्त्र आफ्नो देशको स्वार्थ र हितको संरक्षण गर्नु भएको स्पष्ट पारे । सरकारले आफ्नो स्वार्थ र आवश्यकतालाई केन्द्रविन्दुमा राखेर विदेश नीति बनाउने उनको भनाइ छ ।

उनले चीनसँगको सीमा विवादबारे सरकारले अध्ययन समिति बनाएकाले  मिचिएको देखिए सम्बन्धित निकायसँग सरकारले कुरा उठाउने बताए । उनले एमसिसीमा भएका आशङ्काहरु अमेरिकी सरकारले हटाउने विश्वास व्यक्त गरे ।

सहमहामन्त्री डा महतले कांग्रेसको यही भदौ १८ देखि सुरु भएको वडा अधिवेशनमा उत्साहपूर्वक सहभागिता देखिएको बताए । “वडा अधिवेशनले पार्टीभित्र ऊर्जा र जाँगर थपेको छ”, उनले भने । उनले कांग्रेसको महाधिवेशन आउन झण्डै तीन महिना समय बाँकी रहेको भन्दै अनुकूल समय आएपछि आफूले उम्मेदवारी घोषणा गर्ने बताए ।
 

प्रतिक्रिया दिनुहोस