पशुपतिनाथ मन्दिर खोल्ने तयारी, स्वास्थ्य मापदण्डको पालना अनिवार्य

रासस

शुक्रबार, १८ भदौ २०७८, १४ : २३
पशुपतिनाथ मन्दिर खोल्ने तयारी, स्वास्थ्य मापदण्डको पालना अनिवार्य

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले केही दिनभित्रमै विश्वभरका हिन्दूहरुको आराध्यदेव भगवान पशुपतिनाथको मन्दिर पूजाआजाका लागि खुल्ला गर्ने भएको छ ।

कोरोना महामारीका कारण पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी थालिएको कोषका निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

निर्देशक खतिवडाले भन्नुभयो, ‘ठ्याक्कै मिति त तोकिसकिएको छैन, तर केही दिनमै खोल्ने गरी तयारी भने गरिएको छ । सम्भवतः हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीज अगावै खोल्न सकिन्छ होला ।’

मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग पनि परामर्श गरिसकिएको छ ।कोरोनाको नयाँ भेरियन्टले जोखिम बढाएसँगै गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिरलगायतका देवालयहरुमा पूजाआजाका लागि भक्तजनलाई रोक लगाइएको थियो ।

मूल मन्दिरमा रोक लगाए पनि साउनको सोमबारलगायतका दिन भक्तजनहरु पशुपतिनाथ परिसरमा भेला भएर आराध्यदेवप्रतिको आफ्नो आस्था प्रकट गरेका थिए ।

पशुपतिनाथका साथै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि लामो समयदेखि बन्द अवस्थामा छन् । खुला गर्दा पनि भौतिक दूरीलगायतका स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्न लगाइने छ ।

कोरोना महामारी नेपालमा पनि देखिन थालेपछि विसं २०७६ चैतमा भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर दश महिनापछि २०७७ साल पुस १ गते खोलिएको थियो भने दोस्रो पटकको लकडाउनमा बन्द रहेको मन्दिर पाँच महिनापछि खोल्न लागिएको हो ।

लामो समय मन्दिर बन्द रहँदा पूजाआजामार्फत् संकलन हुने करोडौंको भेटी रकम उठ्न सकेको छैन । जसबाट कोषको आम्दानीमा प्रत्यक्ष असर पुगेको छ ।