देशका लागि खेल्नु नै ठूलो कुरा हो : किरण चेम्जोङ

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, १४ : ५७
देशका लागि खेल्नु नै ठूलो कुरा हो : किरण चेम्जोङ

काठमाडौँ ।  नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले आफ्नो लागि देशको प्रतिनिधित्व गरेर खेल्नु नै ठूलो कुरा भएको बताएका छन् ।नेपाल र भारतबीच हुने मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल अगाडि बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भारतविरुद्धको दुई खेलका क्रममा म नेपालका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुनेछु, यो मेरो लागि धेरै खुसीको उपलब्धि हुने छ।’

नेपालका लागि किरणले अहिलेसम्म ७२ खेल खेलिसकेका छन् ।अहिले उनी सर्वाधिक क्याप जित्ने खेलाडी सूचीको दोस्रो स्थानमा छन् । उनको अगाडि पूर्वकप्तान विराज महर्जन छन् र उनले नेपालका लागि ७३ पल्ट खेलेका छन् । उनले यो कीर्तिमान थ्री नेसन्स कपका क्रममा बनाएका थिए ।

भारतविरुद्धको पहिलो खेल किरणको ७३औं खेल हुनेछ र उनले विराजको बराबरी गर्नेछन् । दोस्रो खेलपछि भने उनले विराजलाई उछिनेर ७४औं क्याप जित्नेछन् र नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुनेछन् । ‘मेरो लागि देशका लागि खेल्नु ठूलो थियो, अहिले म देशकै लागि सर्वाधिक खेल खेल्ने खेलाडी भइरहेको छु ।’

उनले भारतविरुद्ध खेल सजिलो नहुने पनि बताए । उनले भने, ‘मैले यसअघि पनि भारतको सामना गरिसकेको छु र भारत कति बलियो छ भनेर थाहा छ । त्यसैले भारतविरुद्धको खेल कठिन हुनेछ । तर हामीले पनि लामो तयारी गरेका छौं र हाम्रा खेलाडी अहिले मानसिक रूपमा बलिया भएका छन् ।’


 

प्रतिक्रिया दिनुहोस