चितवन । भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् । एक वर्षको अवधिमा प्राडा कृष्ण पौडेल सातौँ मेडिकल सुपरिटेण्डेण्ट हुने अवसर पाएका छन् ।
हाल अस्पतालमा कार्यरत डा. रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए । अधिकारी अध्यक्ष भएयताको सातौँ मेसु पौडेल भएका हुन् । विसं २०७७ भदौ २८ गते डा श्रीराम तिवारी सरुवा गरेर डा. राजन पाण्डेलाई मेसु बनाइएको थियो । पाण्डे दुुई महिनापछि मङ्सिर ८ गते सरुवा भएसँगै डा. जगन्नाथ तिवारी मेसु भएका थिए ।
त्यसको तीन महिनापछि डा. वासुदेव पाण्डेलाई मेसु बनाइएको थियो । गत वैशाख ४ गते पाण्डे निवृत्त भएपछि पुनः डा जगन्नाथ तिवारीलाई मेसु बनाइएको थियो । झण्डै दुुई महिनापछि जेठ १३ गते डा रोशन न्यौपानेलाई मेसु बनाइएकोमा तीन महिनामा उनलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको हो । सरकारले आइतबार प्रा. डा. पौडेललाई भरतपुर अस्पतालको मेसुमा नियुक्त गरेको हो ।
मेसु अस्थिर हुँदा अस्पतालको गुणस्तर र सुविधा खस्किँदै गएको छ । अध्यक्ष अधिकारीले विकास समितिले गरेका निर्णय मेसु अस्थिर हुँदा कार्यान्वयन हुन नसकेको बताए । यसपटक मेसु भइसकेका स्थानीय व्यक्तिले जिम्मेवारी पाएकाले लामो समय काम गर्ने अवसर प्राप्त हुने र विकास समितिले गरेका निर्णय कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको अधिकारीको भनाइ छ ।
यो सङ्घीय अस्पताल हो । छ सय शैय्याको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । पटकपटक कार्यकारी प्रमुख परिवर्तन हुँदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ । हरेक विभागमा बिरामीले पाउनुपर्ने सेवा पाउन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १५ भदौ २०७८, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा चिसोका बिरामी बढे, सावधानी अपनाउन आग्रह
भरतपुर अस्पतालमा टोकन प्रणाली सुरु, भीड व्यवस्थापन सहज
भरतपुर अस्पतालमा शल्यक्रियाका क्रममा महिला मृत्यु प्रकरण : ९ सदस्यीय छानविन समिति गठन
भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा एकजनाको मृत्यु
स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो एक अर्ब ८९ करोड
सर्पदंशको उपचार गर्न भरतपुर अस्पतालकै भर