स्वदेश फिर्तीका लागि ३०० जनाले भरे विवरण

रासस

विहीबार, ०३ भदौ २०७८, २१ : ३४
स्वदेश फिर्तीका लागि ३०० जनाले भरे विवरण

काठमाडौँ । अफगानिस्तानमा रहेका नेपालीमध्ये हालसम्म कूल ३०० जनाले आफूहरु स्वदेश फर्कन चाहेको भन्दै विवरण टिपाएका छन् । कन्सुलर सेवा विभागको वेब पोर्टलमा आज साँझसम्म उक्त सङ्ख्याका नेपालीले आफ्नो विवरण टिपाएका हुन् । 

यसैगरी परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाअन्तर्गत नायब शिष्टाचार महापालको नेतृत्वमा रहेको ‘सिच्युसन रुम’ मा तोकिएका मोबाइल नम्बर तथा इमेल ठेगानामा आज साँझ ५ बजेसम्म ४२ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । 

त्यसमा कतिपयको नाम र राहदानी नम्बर दोहोरिएको छ भने कतिपयको एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको छ । कतिपयको उद्धार भई सुरक्षित गन्तव्यमा पुगिसकेकाले रुजु गरी बाँकीको उद्धारका लागि काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रसँग सहकार्य र समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार आज जजिरा एयरको कुबेत काठमाडौँ उडानबाट थप आठ जनासमेत गरी २९६ जना नेपाली अफगानिस्तानबाट उद्धार भई काठमाडौँ आइपुगेका छन् ।

नेपाल आइपुगेका नागरिकको अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनीहरुलाई सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस