इटहरीका मेयर द्वारिकलालले एक स्थानीयलाई अढाइ घन्टा थुन्दा...

सफल खबर संवाददाता

बुधबार, २७ साउन २०७८, १९ : २४
इटहरीका मेयर द्वारिकलालले एक स्थानीयलाई अढाइ घन्टा थुन्दा...

काठमाडौं । इटहरीका मेयर द्वारिकलाल चौधरीले एक स्थानीय युवालाई नगरपालिकाभित्र अढाइ घन्टा थुनेका छन् । इटहरी ४ आइतबारेका यामप्रसाद ढकाललाई उनले अढाइ घन्टा थुनेका हुन् । उनले नक्शाबिना घर बनाएको भन्दै नगरपालिकामा बोलाएर कोठामा लगेर थुनेका हुन् ।

ढकालका अनुसार आफ्नो दुई तल्ले घर ऐलानी र नम्बरी जग्गामा बनेको छ । नगरपालिकाबाट सिफारिस लिएर करिब १२ वर्षअघि बनाएको घरको लालपुर्जा आफूसँग नभएको र यसका लागि प्रयास गरिरहेको उनको भनाइ छ ।

ढकालले घर नभत्काउने अडान लिएपछि मेयर चौधरीले आक्रोशित हुँदै उनलाई अर्को कोठामा लगेर थुनिदिन प्रहरीलाई आदेश दिएका थिए । त्यहीबमोजिम नगरप्रहरीले आफूलाई प्रशासकीय अधिकृतको कोठामा हुलेर अढाइ घन्टासम्म थुनेको उनी बताउँछन् । त्यतिबेला प्रशासकीय अधिकृत आफ्नो कार्यकक्षमा आएका थिएनन् ।

मेयर चौधरीले अनाधिकृत रुपमा खोला मिचेर घर बनाएकाले सोधपुछ गर्न आफूले ढकाललाई बोलाएको बताएका छन् ।नगरपालिकासँग स्वीकृत नलिइ घर बनाएकाले सोधपुछ गर्न बोलाएको उनले बताएका छन् । उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृतको कोठामा बस्दै गर्नु, मेरो सानो काम छ, बाहिर गएर आउँछु  भनेको थिएँ । अहिले थुन्यो भनेर हल्ला गर्नु भएछ । मैले त एसी भएको कोठामा मिनरल वाटर दिएर राखेको छु ।’

प्रतिक्रिया दिनुहोस